मनोचिकित्सक विज्ञसँगको छलफलमा प्रधानमन्त्री ओली: कोरोना संकट

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड१९) को संकटको समयमा उत्पन्न हुने मनोसामाजिक समस्याको विषयमा मनोचिकित्सकसँग छलफल गरेका छन्।

मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ओलीले कोरोना संकटका कारण सिर्जित मनोसामाजिक समस्याको सम्बोधन गर्नेगरी स्वास्थ्य मन्त्रालय र निजी क्षेत्रका सम्बन्धित निकायका अधिकारीसँग छलफल गरेका हुन्।

छलफलका क्रममा प्रधानमन्त्रीले मनोसामाजिक समस्या सम्बोधनका लागि तत्कालयोजना बनाएर अघि बढ्न स्वास्थ्य मन्त्रालय र सम्बद्घ सरकारी र निजी क्षेत्रका निकायलाई सक्रिय हुन निर्देशन दिएको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

‘बालुवाटारमा मनोचिकित्सकसँग आयोजित परामर्श र छलफलका क्रममा उहाँले निराशा, दिक्दारी, भय र त्रास मुक्त समाज निर्माण गर्नसमेत मनो चिकित्सकको विशेष योगदान हुने उहाँले जोड दिनुभयो’, छलफलपछि प्रेस सल्लाहकार थापाले भने।

प्रधानमन्त्रीसँगको छलफलमा प्रा।डा सुदर्शन नरसिंह प्रधान, डा। पशुपति महत, प्रा।डा। सरोजप्रसाद ओझा, प्रा।डा। दिव्यासिह शाह, डा रितेश थापा, डा। सगुन पन्त, डा अनन्त अधिकारी, डा फणीन्द्र बराल र डा। रोशन पोखरेल लगायत विज्ञ सहभागी थिए।

बालुवाटार पुगेका सम्बन्धित क्षेत्रका विज्ञले प्रधानमन्त्रीसँग संकटको समयमा अपनाउनुपर्ने अल्पकालीन र दीर्घकालीन उपायका विषयमा धारणा राखेका थिए।

प्रधानमन्त्री ओलीले विज्ञको सुझाव सुनेपछि तत्काल कोरोनाविरुद्धको परामर्शका लागि सचेतना अपनाउनु पर्ने धारणा राखेका छन्।

उनले रेडियो र टेलिभिजन लगाय सञ्चार माध्यमबाट परामर्श र सचेतना फैलाउनुपर्नेमा जोड दिए। उनले यसका लागि मनोचिकित्सकको सक्रिय योगदान रहने बताए।

२३ भदौ २०७७, मंगलवार १५:०२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु