कृष्णबहादुर महरा : केन्द्रीय राजनीतिमा सक्रिय हुन खोज्दै

संसद् सचिवालयमा कार्यरत एक महिला कर्मचारीलाई जबर्जस्ती करणी उद्योग गरेको आरोप लागेपछि राजीनामा दिएका तत्कालीन सभामुख कृष्णबहादुर महराले काठमाडौं जिल्ला अदालतबाट ५ फागुनमा सफाई पाए ।

लगत्तै उनको निलम्बनमा परेको सांसद् पद फुकुवा भयो । सफाइपछि महरा चलिरहेको संसद बैठकतिर लागेनन् ।

बरु आफ्नो निर्वाचन क्षेत्र दाङ, गृहजिल्ला रोल्पा तथा छिमेकी जिल्ला प्यूठानतिर लागे ।अहिले भने उनले नकेपाको राजनीतिमा ‘कमब्याक’ गर्ने चर्चा चल्न थालेको छ । यसका लागि पार्टीका शीर्ष नेताहरूसँग उनी संवादमा छन् ।

महरा आफैं पनि राजनीतिमा चाँडै फर्किने बताउँछन् । ‘राजनीतिमा फर्कन्छु । पार्टीको औपचारिक निर्णयको प्रतिक्षामा छु,’ उनले संक्षिप्त प्रतिक्रियामा भने । पार्टी निर्णयपछिमात्रै थप संवाद गर्ने उनको भनाई छ ।

महरालाई फेरि सक्रिय राजनीतिमा ल्याउने तयारी नेकपाभित्र भएको छ । नेकपाका केही नेताले निवासमै पुगेर महरासँग भेट गरेका छन् । उनलाई सक्रिय पार्टी राजनीतिमा ल्याउन र त्यसैअनुसारको भूमिका दिनुपर्ने आवाज नेकपामा उठेपछि उनलाई ल्याउने तयारी छ ।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ महरालाई अदालतले सफाई दिइसकेकाले उनलाई पार्टीले उपयुक्त जिम्मेवारीमा ल्याउनु पर्ने बताउँछन् ।

‘उहाँ पार्टीको सिनियर कमरेड हो । जुन अभियोग लागेको हो, त्यसमा अदालतबाट उहाँले सफाई पाइसक्नु भएको छ । त्यसैले उहाँका सन्दर्भमा पार्टीले उपयुक्त जिम्मेवारीका बारेमा सोच्नु आवश्यक हुन्छ,’ प्रवक्ता श्रेष्ठले भने ।

 

२२ भदौ २०७७, सोमवार २०:०४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु