विप्लव समुहमा पहिरो : १३८ जनाले एकैदिन पार्टी छोडे
मकवानपुर जिल्लामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका सेक्रेटरी जयराम रायमाझी ‘पासाङ’ ठूलो संख्यामा नेता कार्यकर्ताहरुले पार्टी परित्याग गरेका छन् ।
प्रदेश, अञ्चल र जिल्ला नेतृत्व तहका गरी १ सय ३८ जनाले पार्टी परित्याग गरेका हुन् ।
शुक्रबार भीमफेदी गाउँपालिकाको वडा नम्बर ९ बसिफाँटमा पत्रकार सम्मेलन गरी विप्लव समूहका नेता, कार्यकर्ताले पार्टी छोडेको घोषणा गरेका हुन् ।
पार्टी परित्याग गर्नेहरुमा व्युरो सदस्य तथा प्लाटन कमाण्डर धनबहादुर थिङ, प्लाटन कमाण्डर किरण, नेपाल क्रान्तिकारी महिला संगठन नारायणी व्युरो सदस्य रेमा मगर, जिल्ला सचिवालय सदस्य सोम घलान, जिल्ला सदस्य जुरे घिसिङ र नेत्र गौतम लगायत छन् ।
पार्टी परित्याग घोषणा कार्यक्रममा बोल्दै जिल्ला सेक्रेटरी जयराम रायमाझीले पार्टी नेतृत्वको राजसी शैलीका कारण आफूहरु पार्टीबाट अलग हुनु परेको बताउनुभयो । रायमाझीले पार्टीको साधारण सदस्यसमेत नरहने गरी स्वतन्त्र ढंगले आम नागरिक सरह जीवनयापन गर्ने समेत घोषणा गर्नुभएको छ । पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिँदै उहाँले आफूहरु तत्काललाई कुनै पार्टीमा प्रवेश नगर्ने स्पष्ट पनि स्पष्ट पार्नुभयो ।
‘हामी तत्कालका लागि समाजवादी अध्ययन केन्द्र अन्तर्गत रहन्छौं, तत्काललाई कुनै पार्टीमा प्रवेश गर्ने कार्यक्रम छैन, तर माक्र्सवादी विचारलाई भने त्याग्न सक्दैनौं’ उहाँले भन्नुभयो ।
पार्टी परित्याग कार्यक्रममा मुलुकको प्रमुख राजनीतिक दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का नेताहरुको पनि उपस्थिति थियो ।
२० भदौ २०७७, शनिवार २१:३४ बजे प्रकाशित













