विचारकै आधारमा विप्लवका कार्यक्रता पक्राउ नगर्न सर्वोच्चको आदेश
सर्वोच्च अदालतले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीकी नेतृ उमा भुजेलको बन्दी प्रत्यक्षीकरण मुद्दामा फैसला गर्दै फरक विचार राखेकै कारण उनलाई पक्राउ गर्नु उचित नहुने जनाएको छ ।
न्यायाधीशद्वय दीपकुमार कार्की र हरिकृष्ण कार्कीको इजलासले आइतबार यस्तो फैसला गरेको हो ।
‘स्पष्ट आधार र कारणविना प्रवृत्त भावनाले निवेदकलाई केवल फरक विचार र आस्था राखेकै कारणबाट मात्र पक्राउ गर्ने र अनुसन्धानको क्रममा थुनामा राख्ने कार्य न्यायिक दृष्टिकोणबाट औचित्यपूर्ण नभएबाट निवेदक उमा भुजेलको हकमा विपक्षीहरूको नाउँमा बन्दी प्रत्यक्षीकरणको आदेश हुने ठहर्छ,’ फैसलामा भनिएको छ । न्यायिक दृष्टिकोणबाट राज्यको तर्फबाट गरिएको यो कार्य औचित्यपूर्ण नरहेको सर्वोच्चको ठहर छ ।
उनलाई जिल्ला प्रहरी कार्यालय सप्तरीले २ भदौमा अभद्र व्यवहार गरेको भन्दै थुनामा राखेको थियो । मुद्दामा पुर्पक्षका लागि भन्दै १५ दिन म्याद थप गराएको थियो । उनी सोही दिन सुनसरी जिल्ला अदालतबाट हातहतियार तथा खरखजाना मुद्दामा साधारण तारेखमा छुटेकी थिइन् ।
प्रतिबन्धित दल विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपाकी केन्द्रीय सदस्य भुजेललाई पछिल्लोपटक १२ पुसदेखि पक्राउ गर्ने, अदालतले छोड्न आदेश दिने र फेरि अदालत परिसरबाट बाहिर निस्किनेबित्तिकै पक्राउ गर्ने क्रम निरन्तर चलिरहेको छ ।
१४ भदौ २०७७, आइतवार २२:४१ बजे प्रकाशित