कुलमानबारे मन्त्रिपरिषद बैठकमा कुरा उठ्यो तर, भएन निर्णय
नेपाल विद्युत प्राधिकरणको नयाँ कार्यकारी निर्देशकबारे आइतबारको मन्त्रिपरिषद् बैठकमा कुरा उठेको छ ।
औपचारिक प्रस्ताव भन्दा पनि सामाजिक सञ्जालमा भएको बहसबारे उर्जमन्त्री बर्षमान पुनले कुरा उठाएका थिए ।
एक मन्त्रीका अनुसार मन्त्री पुनले कुलमानको नाम लिएर प्राधिकरणको नयाँ कार्यकारी निर्देशकबारे कुरा उठाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले ‘औपचारिक कुनै प्रस्ताव छ’ भन्दै सोधे । जवाफमा मन्त्री पुनले ‘छैन’ भने । त्यसपछि प्रधानमन्त्रीले ‘उसो भए थप कुरा नगर्नुस’ भनेर रोकेका थिए ।
प्राधिकरणका वर्तमान कार्यकारी प्रमुख कुलमान घिसिङको चार वर्षे कार्यकाल भदौ २९ गते सकिँदै छ।
प्राधिकरणको आगामी कार्यकारी प्रमुखका रुपमा विभिन्न अनुहारहरु चर्चामा आइरहेका बेला घिसिङको पुनर्नियुक्तिको दबाब सरकारलाई छ। दैनिक १८ घण्टाभन्दा बढीसम्म पुगेको लोडसेडिङलाई शून्यमा झारेका कुलमान स्वभाविक दावेदार देखिएका छन्।
मन्त्रिपरिषद्को अघिल्लो बैठकमै कुलमानलाई पुनर्नियुक्ति गरिएको भनेर समाचारहरु आएपनि सरकारका प्रवक्ता युवराज खतिवडाले ती झुटा भएको भन्दै सामाजिक सञ्जालले दिएका नियुक्ति सरकारलाई थाहा नहुने भन्दै व्यंग्य गरेका थिए।
मन्त्रिपरिषद्को आइतबारको बैठकमा अर्थमन्त्री र सूचना तथा सञ्चारमन्त्रीसमेत रहेका खतिवडाबारे पनि कुनै छलफल नभएको बताइएको छ। राष्ट्रिय सभा सदस्यमा नियुक्त नभए खतिवडा आगामी भदौ २० गतेबाट मन्त्रिपरिषदबाट बाहिरिने छन्।
१४ भदौ २०७७, आइतवार २२:५८ बजे प्रकाशित