सभामुखलाई एमालेको प्रश्न, १६ गतेको संसद बैठक किन सारेको ?

२० माघ, काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले प्रतिनिधिसभा बैठक सरेको विषयमा प्रश्न उठाएको छ ।

१६ गतेका लागि तय भएको प्रतिनिधिसभाको बैठक सभामुखले २६ गतेलाई सारेका छन् । १६ गतेको बैठकको संभवित कार्यसूची तय भइसकेको, सभामुखले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइसकेको अवस्थामा एकाएक बैठक सरेपछि संशय पैदा भएको भन्दै एमालेले प्रश्न उठाएको हो ।

नेकपा एमालेका उपमहासचिव विष्णु रिमाल भन्छन्, ‘१६ गतेको संसद किन २६ गतेलाई लिएर गएको रु हामीले त भनेकै थिएनौं ।’

प्रतिनिधिसभाको बैठक १६ गते दिउँसो १ बजेका लागि तय गरिएको थियो । बैठकको एजेण्डा तय गर्न सभामुख अग्निप्रसाद सापकोटाले सोही बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक पनि बोलाएका थिए ।

संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले शनिबार अपरान्ह प्रतिनिधिसभाको सम्भावित कार्यसूची पनि सार्वजनिक गरेका थिए । तर यति तयारी गरेर पनि शनिबार साँझ प्रतिनिधिसभाको बैठक माघ २६ गतेसम्मका लागि स्थगित गरिएको थियो ।

संघीय संसद सचिवालयले जारी गरेको सूचनामा कोरोना महामारीको जोखिम कायमै रहेको भन्दै बैठक स्थगित गरेको उल्लेख गरेको छ । तर शनिबार साँझको सत्तारुढ गठबन्धनको बैठक र त्यहाँ भएको छलफलपछि बैठक स्थगित गरेको गठबन्धनका नेताहरु बताउँछन् ।

गठबन्धनका नेताहरुका अनुसार आइतबारकै बैठकमा एमसीसी सम्झौता अघि बढाउने प्रधानमन्त्रीको चाहनालाई रोक्नका लागि नै संसद बैठक स्थगित गरिएको हो ।

शनिबार अपरान्ह प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ पाँच दलीय गठबन्धनको बैठकमा एमसीसी सम्झौता अनुमोदनको विषयमा छलफल भएको थियो ।

नेताहरुका अनुसार प्रधानमन्त्री देउवाले एमसीसी सम्झौता अनुमोदन गर्नुपर्ने समय घर्किन लागेको बताएका थिए । उनले फेब्रुअरिभित्र गर्नुपर्ने भन्दै गठबन्धनका दलहरुको सहयोग मागेका थिए ।

तर नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले सभामुखमार्फत संसद बैठक नै स्थगित गर्न लगाएका हुन् । सभामुख सापकोटा नेकपा माओवादी केन्द्रको तर्फबाट सभामुख भएका हुन् ।

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले प्रधानमन्त्रीले एमसीसी अनुमोदन गर्न दबाव दिएकै कारण प्रतिनिधिसभाको बैठक सार्न लगाइएको स्वीकार गरेका थिए ।

‘एमसीसी अनुमोदन गराउन अमेरिकाले अल्टिमेटम दिएको रे । त्यसभित्र तिमीहरुले पास ग¥यौ भने ग¥यौ होइन भने हामी फिर्ता लान्छौं भनेर प्रधानमन्त्रीले भन्नुभएको थियो’ नेता खनालले भने ।

अमेरकाले अल्टिमेटम दिएको हो भने प्रतिनिधिसभा बैठक स्थगित गरौं भन्ने सल्लाह भएको भन्दै उनले थपे, ‘अब १० दिन प्रतिनिधिसभा बैठक स्थगित गरौं, यहीबीचमा फेब्रुअरी १ पनि जान्छ । के के हुँदोरहेछ हेरौं न ।’

यसैलाई जोडेर एमालेले सभामुख सापकोटाले एमसीसीलाई छल्न माघ १६ को बैठक स्थगन गरेर २६ गते पु¥याएको भनी प्रश्न उठाएको हो । एमाले उपमहासचिव प्रदीप ज्ञवाली एमसीसीका विषयमा विगतमा सभामुखले गरेको असहयोग अहिलेको सरकारका पालामा पनि दोहोरिइरहेको बताउँछन ।

‘एमसीसीको बोर्ड बैठक बस्ने दिनलाई पन्छाउन प्रधानमन्त्रीसँग परामर्श नगरी प्रचण्ड र माधव नेपालको निर्देशनमा उहाँले प्रतिनिधिसभा बैठक आफूखुसी सार्नु भएको बाहिर आएको छ । त्यो गम्भीर कुरा हो’ उनले थपे, ‘विगतमा पनि उहाँले त्यस्तै गर्नुभएको थियो ।’

उपमहासचिव ज्ञवालीले सभामुख सरकारलाई अप्ठ्यारो पार्ने पद नभएको बताउँछन । ‘सदनले फैसला गर्ने हो । सभामुख सदन र सरकारको बीचमा सहजकर्ता बन्ने हो’ उनले भने ।

उपमहासचिव ज्ञवाली संसद्को अवरोध खोल्न सत्ता गठबन्धनसामु चार विकल्प प्रस्तुत गरिएको बताउँछन् ।

पहिलो विकल्प, एकीकृत समाजवादीका १४ सांसद पदमुक्त भएको सूचना सभामुखले जारी गर्नककपर्ने, दोस्रो सभामुखले एमाले फुटाउन आफ्नो क्रियाकलापले भूमिका खेलेको भन्दै क्षमायाचना गर्नपर्ने, तेस्रो सभामुखले राजीनामा गर्ने र चौथो पार्टी विभाजनका विषयमा ओलीले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथिको फैसला कुर्ने,’ उनले भने ।

२० माघ २०७८, बिहीवार २०:५९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु