मन्त्री बन्न ओलीको प्रस्ताव, भीम रावलले गरे अस्वीकार

प्रधानमन्त्री केपी शर्मा ओलीले नेता भीम रावललाई मन्त्री बन्न प्रस्ताव गरेका छन् ।

स्रोतका अनुसार प्रधानमन्त्री ओलीले टेलिफोन मार्फत रावललाई कुन मन्त्रालय लिने भनेर सोधेका छन् । तर, रावलले प्रधानमन्त्रीको प्रस्ताव अस्वीकार गरेका छन् ।

‘यो सरकारका धेरै गतिविधि पाच्य भएनन, सरकारलाई सच्याउन निरन्तर आवाज उठाइरहेँ, सरकार कम्युनिस्टको जस्तो भएर अगाडि बढ्न सकिरहेको छैन्, अब पनि त्यो बाटोमा जाने निश्चित छैन् । त्यसकारण मैले मन्त्री बन्ने कुरा सोचेको छैन्’ रावलले् प्रधानमन्त्रीलाई दिएको जवाफ उघृत गर्दै स्रोतले भन्यो ।

सत्तारुढ नेकपा भित्रको विवाद समाधान गर्न ६ सदस्यीय कार्यदल गठन भएको छ । त्यसमा रावल पनि छन् ।

कार्यदलमा रावलले सरकारको समिक्षा सही ढङ्गले हुनुपर्ने भनेर सरकार पार्टीबीचको समन्वय र सरकारको गतिविधिमाथि कडा टिप्पणी गरिरहेका छन् ।

कार्यदलमा रहेका सबै मन्त्री बन्ने लाइनमा रहेको चर्चाका बीच ओली र रावलबीच कुराकानी भएको बताइएको छ ।

यसअघि रावल जस्तै सरकारको आलोचना गर्ने योगेश भट्टराई, घनश्याम भुसाल लगायतका नेताहरु मन्त्री भएका छन् ।

आफ्नो र सरकारको विरोध गर्नेलाई मन्त्री बनाएर ठेगान लगाउने ओली रणनीति छ । सोही रणनीति रावलको हकमा पनि लागू गर्न खोजिएको कतिपयको टिप्पणी छ ।

६ भदौ २०७७, शनिवार १०:३५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु