सरकारी नियुक्तिले नेकपा कार्यदलमा चर्कियो विवाद

नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पार्टीको समस्या समाधानका लागि गठन गरेको कार्यदलभित्र तिब्र विवाद भएको छ ।
पछिल्लो विवादमा आएको विषय हो –सरकारी नियुक्ती
कार्यदलका एक सदस्यका अनुसार बुधबारको छलफलमा महत्वपूर्ण सरकारी नियुक्तीका विषयमा विवाद भएको छ । अध्यक्षद्वयबीच सहमति भएर कार्यदल बनाइए पनि प्रधानमन्त्री ओलीले विभिन्न ठाउँमा राजनीतिक नियुक्ती गरेको र आफ्नै पार्टीका नेतालाई गाली गर्ने विवादित व्यक्तिको नियुक्ती खारेजी गर्ने विषयमा कुरा उठेपछि विवाद भएको हो ।
कार्यदल सदस्यहरु भीम रावल, पम्फा भुषाल, सुरेन्द्र पाण्डेले सहमतिसँगै विवादमा परेका राजनीतिक नियुक्तीको पुनर्विचार गर्नुपर्ने बताएका छन् ।
तर, महासचिव पौडेल र अर्का सदस्य पोखरेलले भने विगतमा भइसकेका नियुक्तीमा ध्यान दिन नहुने बताए ।
कार्यदलका एक सदस्य भन्छन्, ‘आफ्नै पार्टीका नेतालाई तुच्छप्रकारका गाली गलौज गर्नेको नियुक्ती खारेज गर्नुपर्छ । यसले कार्यकर्तामा पनि अनुशासन कायम हुन्छ । पछिल्लो समय गरेका नियुक्तीका विषय पनि खारेज गरेर अगाडि बढ्नुपर्छ । उहाँहरुले यसमा विवाद सुरु गर्नु भएको छ ।’
कार्यदलमा विवाद भएपछि बुधबार बिहान महासचिव पौडेलले अध्यक्षद्वयसँग छुट्टाछुट्टै परामर्श गरेका छन् ।
उनले कार्यदलले अहिलेसम्म गरेका काम र अब सहमति हुन बाँकी विषयमा जानकारी गराएका छन् ।
ओलीसँग बालुवाटारमा र प्रचण्डसँग खुमलटार पुगेर उनले बिहान भेटवार्ता गरेका थिए ।
कार्यदलमा छलफलका विषय के हुन् ?
कार्यदलका एक सदस्यका अनुसार पार्टीको एकता महाधिवेशन, मन्त्रिमण्डल पुनर्गठन, मुख्यमन्त्री परिवर्तन, राजनीतिक नियुक्ती, विवादमा रहेका नियुक्ती, पार्टी एकताका बाँकी काम, महाधिवेशनमा जाँदाको वैचारिक लाइनलगायतका छलफल चलिरहेको छ ।
कार्यदललाई छिट्टै प्रतिवेदन दिने जिम्मेवारी दिए पनि शनिबार सम्ममा सहमति जुट्नेगरी काम भइरहेको महासचिव पौडेलले अध्यक्षद्वयलाई जानकारी गराएका छन् । प्रतिवेदनलाई अन्तिमरुप दिने विषयमा पनि कार्यदलबीच एकमत हुने सम्भावना कम हुँदै गएको एक सदस्यले जानकारी दिए ।
विवादका कारण अझै केहीदिन कार्यदलले आफ्नो प्रतिवेदन बुझाउन नसक्ने एक सदस्यले जानकारी दिए ।
अध्यक्षद्वय ओली र प्रचण्डले महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठन गरेको कार्यदलमा बैठक बस्ने दिन अर्थात गएको शनिबार नै विवाद सुरु भएको थियो ।
भैँसेपार्टीस्थित पार्टी महासचिवको घरमा बैठक बस्ने भनिए पनि राष्ट्रिय पुनर्निमाण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीको निवासमा बैठक सुरु भएपछि विवाद सुरु भएको थियो ।
कार्यदल सदस्य भीम रावल, पम्फा भुषाल र सुरेन्द्र पाण्डेले कार्यदल तथा पार्टीसँग सम्बन्ध नभएका व्यक्तिका घरमा बैठक बस्न नहुने बताएपछि त्यसयता बैठक पार्टी कार्यालयमा हुन थालेको छ । कार्यदलमा शंकर पोखरेल र जनार्दन शर्मा पनि सदस्य छन् । सदस्यले ज्ञवालीको घरमा बैठक बस्न नहुने अडान राखेपछि पार्टी कार्यालयमा बैठक बस्ने जानकारी महासचिव पौडेलले गराए ।
बैठकले मिडियामा नबोल्ने कार्यविधि बनाएपछि कार्यदलमा रहेका नेताहरुको अधिकांश समय फोन अफ हुने गरेको छ । कुनै पनि सदस्यले मिडियामा जानकारी नदिने सहमति अनुसार औपचारिकरुपमा कुनै पनि सदस्य सार्वजनिकरुपमा बोलेका छैनन् ।
३ भदौ २०७७, बुधवार २०:४५ बजे प्रकाशित