गोकुल बाँस्कोटालाई अदालतको आदेशले छेकेन, गरे पुण्यमाता करिडोर शिलान्यास

अदालतको आदेशलाई अवज्ञा गर्दै सरकारले पुण्यमाता करिडोर निर्माण कार्य अघि बढाउने भएको छ ।

प्रचलित कानुनबमोजिम जग्गा प्राप्त नगरी स्थानीय सरकार करिडोर निर्माणमा अग्रसर भएपछि सम्बन्धित जग्गाधनीहरूले अदालतमा रिट हालेका थिए ।

उच्च अदालत पाटनले रिट निवेदनमाथि फैसला गर्दै स्टे अर्डर जारी गरे पनि यसको उल्लंघन गर्दै सत्तासीन दलका पूर्वमन्त्री गोकुल बाँस्कोटाले पुण्यमाता करिडोरको शिलान्यास गरेका छन् ।

बनेपा, पनौती र धुलिखेल तीन नगरपालिका जोड्ने पुण्यमाता करिडोर निर्माणमा अदालतको आदेश उल्लंघन गरेपछि सरकारप्रति तीव्र आक्रोश बढेको छ ।

निजी सम्पत्ति उपभोगको विषयलाई संविधानमै मौलिक हकमा समेत राखिएको अवस्थामा सत्तासीन दलकै नेतृत्व रहेको नगरपालिकाका प्रमुखहरू र पूर्वमन्त्रीसमेतको उपस्थितिमा भएको शिलान्यासले स्थानीयको उठिबास लाग्ने भन्दै स्थानीय चिन्तित बनेका छन् ।

पुण्यमाता करिडोर निर्माणका लागि केही वर्षअघि ३२ जना जग्गाधनीले प्रचलित कानुनअनुसार जग्गा प्राप्त गरेर मात्र निर्माण कार्य अगाडि बढाउन भनी नगरपालिकालाई निवेदन दिएका थिए ।

तर, नगरपालिकाले सो निवेदनको वास्ता नगरी निर्माण कार्य सुरु गरेपछि उच्च अदालतमा रिट दिएका थिए । उच्च अदालत पाटनले निषेधाज्ञा जारी गरेको भए पनि निर्माण कार्य अगाडि बढाउन लागि शिलान्यास गरिएको छ ।

अदालतको आदेशलाई समेत अवज्ञा गरेको करिडोरमा जग्गा पर्ने बनेपा नगरपालिका– ७ का स्थानीय प्रल्हाद बञ्जराले बताएका छन् । आफूहरू करिडोर निर्माणको विरोधी नभएको, तर सरकारले आफूहरूको कुरा नसुनेको उनले बताए ।

‘पुण्यमाता खोलाको २८ मिटर छ, कहीँ ३० मिटर रहेको छ, खोलाकिनारबाट १५ मिटर जग्गा लिएमा हामीहरू सबैको सहमति छ,’ बञ्जराले भने, ‘तर, हामीहरूले हकभोग गर्दै आएको जग्गाको अन्तिम बिन्दुबाट १५ मिटर सीमांकन गर्ने कुरामा हाम्रो आपत्ति हो ।’

त्यस्तै, बनेपा नगरपालिका– ८ तीन दोबाटोका राजु पोतेको जग्गा एक रोपनी ११ आना रहेको छ । उक्त करिडोर निर्माण गर्दा एक आना पनि बाँकी नरहने पोतेले बताएका छन् । यसले आफूहरूको उठिबास लाग्ने उनले बताएका छन् ।

त्यही जग्गामा खेती गरेर कमाइ गरी खाँदै आएकोमा सबै जग्गा करिडोरमा परेपछि कमाइ खाने भाँडो नै सकिएको उनले बताए । सरकारको कदमले आफूहरूको उठिबास लाग्ने पोतेको भनाइ छ ।

तीन नगरपालिका जोड्ने करिडोर २३ किलोमिटर लामो रहेको छ । उक्त करिडोर निर्माणका लागि १४ करोड ४७ लाख ५५ हजार इस्टमेट गरेकोमा ६ करोड २७ लाख ९५ हजार नौ सय ६ रुपैयाँमा ठेक्का सम्झौता भएको छ ।

पहिलो खण्ड बनेपा नगरपालिका नाला–शेरा–करुणा माईदेखि सरस्वती दोभान हुँदै बनेपा पुलबजार पुलसम्म सडक स्तरोन्नति कार्य हुनेछ । जसका लागि दुई करोड आठ लाख रुपैयाँमा सम्झौता भएको छ ।

दोस्रो खण्ड पुलबजार बनेपादेखि खड्पु पुलसम्म सडक स्तरोन्नति हुनेछ । त्यसका लागि दुई करोड एक लाख रुपैयाँमा सम्झौता भएको छ । त्यस्तै तेस्रो खण्ड खड्पु पुलदेखि पनौती त्रिवेणीघाटसम्म पुग्ने सडक स्तरोन्नति कार्यका लागि दुई करोड १८ लाख रुपैयाँमा सम्झौता भएको छ ।

तीन खण्डको अलगअलग बोलपत्र आह्वान गरिएको भए पनि एउटै कम्पनीसँग सम्झौता भएको छ । करिडोर निर्माणका लागि गरेको इस्टमेटभन्दा आधा बजेटमा सम्झौता भएको हुँदा गुणस्तरमा समेत प्रश्नचिह्न उठेको छ ।

२ भदौ २०७७, मंगलवार १६:१० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु