भारत नेपाललाई सामान्य अवस्थाकै परिमाणमा इन्धन दिन तयार ।।
काठमाण्डौँ, माघ २५ ।
भारतीय आयल कर्पोरेसन आईओसी नेपाललाई सामान्य अवस्थाको परिणाममा इन्धन दिन तयार भएको छ । यही आशय सहितको पत्र नेपाल आयल निगमलाई प्राप्त भएको छ ।
नेपाल आयल निगमलाई ई–मेल लेख्दै आईओसीले पूर्ववतः रूपमा ग्यास पठाउन सकिने जनाएको छ । यसअघि आयल निगमले मासिक २९ हजार मेट्रिकटन ग्यासको कोटा तोकेको थियो । आईओसीले त्यसअनुसार लोडिङ दिने भन्दै विद्युतीय पत्राचार गरेको आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेले जानकारी दिए ।
नाकाबन्दी चलिरहँदा आईओसीले विभिन्न कारण देखाएर कोटा अनुसार ग्यास दिन मानेको थिएन । आयल निगमले कोटा बढाएर मासिक ३५ हजार मेट्रिक टन ग्यास लोड गर्न दिन माग गर्दै गएको जनवरीमा आईओसीलाई पत्र लेखेको थियो । आईओसीले भने नाकाबन्दी अघिकै परिमाणमा ग्यास दिन सकिने भन्दै रिफाइनरी र त्यहाँबाट लोड दिने परिमाण पनि उल्लेख गरेको छ । आईओसीले सबैभन्दा धेरै ग्यास बरौनीबाट दिन सकिने बताएको छ ।
२५ माघ २०७२, सोमवार १६:१३ बजे प्रकाशित