मन्त्री पोखरेल इजरायल प्रस्थान ।।
काठमाण्डौँ, माघ २५ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेल इजरायल गएका छन । इजरायलमा मंगलबार सुरु हुने अन्तर्राष्ट्रिय भूमध्यसागर पर्यटन बजार सम्बन्धी सम्मेलनमा भाग लिन मन्त्रि पोखरेल सोमबार त्यसतर्फ प्रस्थान गरेका हुन ।
इजरायलको पर्यटन मन्त्रालय र टुरिजम अपरेटर्स एसोसिएसनले तेलअभिभ एक्जिविसन ग्राउन्डस्मा गर्न लागेको २२ औँ सम्मेलन बुधबार सम्म चल्नेछ । विश्वभरिका पर्यटनसम्बन्धी कम्पनीलाई एकीकृत गरी पर्यटन बजारको एक आपसमा सहकार्य गर्ने उद्देश्यले आयोजना गरेको सम्मेलनमा मन्त्री पोखरेलले पनि नेपालको पर्यटनबारे सम्बोधन गर्ने कार्यक्रम छ ।
सम्मेलनमा नेपाल, भारत बेलायत, ताइवान, जर्मनी, बुल्गेरिया, स्पेन, फिनल्याड, स्वीडेन, पोर्चुगल, फ्रान्स, जापान, भियतनाम, ग्रीस, पोल्याण्ड, दक्षिण अफ्रिका लगायतका देशका पर्यटन प्रतिनिधिको सहभागिता रहनेछ ।
प्रर्दशनीमा नेपालका तर्फबाट इजरायलस्थित नेपाली दूतावास मार्फत नेपाल पर्यटन बोर्ड अन्तर्गतका उत्कृष्ट पर्यटन सम्बन्धी ६ ओटा संस्थाले भाग लिनेछन् । इजरायलमा रहँदा मन्त्री पोखरेलले इजरायली समकक्षी यरिभ लेभिनसँग भेट गर्ने कार्यक्रम छ । मन्त्री पोखरेल आउँदो फागुन १ गते स्वदेश फर्कनेछन ।
२५ माघ २०७२, सोमवार १६:१९ बजे प्रकाशित