नाकाबन्दी र हड्ताल फिर्ता
काठमाडौं
माघ २५,
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सीमानाका धर्ना र आमहडताल फिर्ता लिएको औपचारिक घोषणा गरेको छ । योसँगै साउन ३१ देखि जारी मधेसको आमहडताल र असोज ४ देखि जारी नाकाबन्दी औपचारिक रूपमा सकिएको छ ।
मोर्चा आबद्ध चार दलमध्ये संघीय समाजवादी फोरम, तराई–मधेस लोकतान्त्रिक पार्टी र तमसपाले अर्काे घटक सद्भावना पार्टीको अनुपस्थितिमै सोमबार भक्तपुरस्थित महन्थ ठाकुर निवासमा बैठक गरी नाका धर्ना फिर्ताको निर्णय लिएका हुन् । ‘वर्तमान अवस्थामा मुलुकका समस्या, जनताका आवश्यकता र जनताद्वारा प्राप्त सुझावलाई ध्यानमा राख्दै आन्दोलनका घोषित कार्यक्रममध्ये आमहडताल, नाका अवरोध र सरकारी कार्यालय बन्दलाई मात्र तत्कालका लागि स्थगित गरी यसका अतिरिक्त आन्दोलनका अन्य कार्यक्रमहरू यथावतै नै रहिरहने छ,’ मोर्चाका तर्फबाट समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादव, तमलोपा अध्यक्ष महन्थ ठाकुर र तमसपा अध्यक्ष महेन्द्र राय यादवले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
सोमबार बिहानै तमलोपा अध्यक्ष महन्थ ठाकुर निवास सानोठिमीमा बसेको मोर्चाका चार अध्यक्षको बैठकमा पछिल्ला केही साताका गतिविधि र कार्यशैलीबारे सद्भावना अध्यक्ष राजेन्द्र महतोले माफी माग्नुपर्ने अडान अरू दलका अध्यक्षले लिएपछि उनी उठेर हिँडेका थिए । तमलोपा अध्यक्ष ठाकुरले टेलिफोन गरी दिउँसोको मोर्चा बैठकमा डाके पनि महतो फर्केनन् । बैठकले महतोलाई ‘सच्चिन’ चेतावनी दिएको छ । ‘महतोको पछिल्लो कार्य र अभिव्यक्तिबाट आन्दोलनलाई ठूलो क्षति पुग्न गएको हुँदा अब उप्रान्त यस्ता क्रियाकलाप नगर्न र नगराउन मोर्चा निर्देश गर्दछ,’ विज्ञप्तिमा भनिएको छ । महतोले भने मधेसमा आन्दोलन हाँक्न मधेसी मोर्चा नचाहिने, आफू एक्लै काफी रहेको चेतावनी दिँदै ठाकुर निवासबाट बाहिरिएको बैठक स्रोतले बताएको छ ।
भारतका तर्फबाट एकतर्फी नाका खुलेसँगै मोर्चा नेताको चर्काे आलोचना सुरु भएको छ । ५४ को ज्यान, सयौं घाइते र गिरफ्तार भए पनि नेतृत्वको असावधानीका कारण आन्दोलन तुहिएको क्षोभ प्रकट गर्दै टेलिफोन, म्यासेज, फेसबुक स्टयाटस आउन थालेपछि शीर्ष नेताहरूले मोबाइल बन्द गरेका छन् । मोर्चाले आन्दोलन अझै जारी रहेको भन्दै फागुन ७ सम्मका लागि लाठी जुलुस, विरोध सभाजस्ता नयाँ कार्यतालिका सार्वजनिक गरेको छ, तर तेस्रो मधेस आन्दोलन तत्काललाई बिना निष्कर्ष, बिना सम्झौता अन्त्य भएको नेताहरूले अनौपचारिक कुराकानीमा जानकारी दिएका छन् ।
असोज ३ मा संविधान जारी भएको भोलिपल्टदेखि भारतले नाकाबन्दी थाले पनि मोर्चाले तीन दिनपछि मात्रै असोज ७ गते राजविराज बैठकबाट नाकाबन्दीको औपचारिक घोषणा गरेको थियो । झन्डै ५ महिना लामो नाकाबन्दी सुरु र अन्त्यको घोषणा गर्न मोर्चा संयोगले भारतभन्दा तीनतीन दिन नै पछि परेको छ ।
बिना कुनै सहमति आन्दोलन टुंगिनु तत्काललाई सामान्य देखिए पनि काठमाडौं संस्थापनले विवेकपूर्ण व्यवस्थापन गर्नुपर्ने विश्लेषकहरूले सुझाएका छन् । ‘राज्यपक्षले यसबीचमा संवाद गरेझैं गरी आलटाल गरिरह्यो, मोर्चा नेताहरू पनि वार्ताको नाममा फोटो सेसनमै अल्मलिइरहे, परिणामत आज सम्पूर्ण मधेसी लज्जाबोध महसुस गर्दैछन्,’ विश्लेषक तुलानारायण साहले फेसबुकमा लेखेका छन्, ‘आन्दोल्ऽनको सुरुवात गौरवपूर्ण थियो, अवतरण सुखद हुन सकेन ।’ मधेसका प्रदर्शनहरू जनआन्दोलनको स्तरमा उठेको देखिए पनि नेतृत्व अझै जन्मन नसकेको साहले टिप्पणी गरे ।
मोर्चा नेताहरूले भने मधेसमा चरम दमन हुँदा निस्सहाय बन्नुपरेका बेला नाकाबन्दी बाध्यता हुन गएको जवाफ दिएका छन् । आजको परिणाम हेर्दा नाकाबन्दी गलत देखिए पनि त्यो बेला मधेसी समुदायका लागि कसैले नबोलिदिएको हुँदा छिमेकी भारतको समेत साथ खोज्नुपरेको उनीहरूको भनाइ छ । ‘नाकाबन्दी गर्नुअघिका पाँच सातासम्म आन्दोलनमा दिनहुँ मान्छे मारिएका थिए, सेना परिचालित थियो, हामीसँग विकल्प थिएन, त्यसैले त्यस बेलाको वर्तमानबाट प्रभावित भएर निर्णय गरियो, बिस्तारै त्यसका परकम्पन पनि देखिए,’ तमलोपा उपाध्यक्ष हृदयेश त्रिपाठीले सोमबार मोर्चा बैठकपछि भने, ‘अहिले बिना सहमति नाका खुलाउँदा फ्रस्ट्रेसन देखिएको छ, तर यो समाधान होइन । तार्किक निष्कर्ष नपाएकाले आन्दोलन कुनै पनि बेला उठ्न सक्छ ।’
यसैबीच संघीय समावेशी मधेसी गठबन्धनले आन्दोलनमा विभक्त भएर मधेसी मोर्चाले धोका दिएको आरोप लगाएको छ । उसले आन्दोलनलाई निरन्तरता दिंदै एकताबद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिएको छ । बैठकले मैनबत्ती जुलुस, अन्तक्र्रियालगायतका कार्यक्रम सार्वजनिक गरेको छ ।
२५ माघ २०७२, सोमवार १६:५९ बजे प्रकाशित