वाङ यी को बेवास्तामा परे माधव नेपाल

ओली र प्रचण्डलाई भेटेर मिल्न सुझाव

उत्तरी छिमेकी चीनले सत्तारूढ दल नेकपा माओवादी र प्रमुख प्रतिपक्ष नेकपा एमालेलाई आगामी निर्वाचनमा मिलेर अघि बढ्न सुझाव दिएको छ।
नेपाल भ्रमणका क्रममा आइतबार एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको छुट्टाछुट्टै भेटमा चीनका परराष्ट्रमन्त्री वाङ यीले यस्तो सुझाव दिएका हुन्।

‘कम्युनिस्टहरू एक हुनुपर्छ। अनेकन् बहानामा फुट्नु नागरिक र मुुलुकका लागि राम्रो होइन’, भेटमा सहभागी वाम दलका एक नेताले भने।

नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भने चिनियाँ परराष्ट्रमन्त्री वाङले भेट्न चाहेनन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले प्रयास गर्दा पनि वाङले भेट नदिएका हुन्। सत्तारुढ घटकमध्येको एकीकृत समाजवादका अध्यक्ष नेपालसँग वाङको भेट गराउन सरकारका तर्फबाट भएको पहल पनि सफल हुन नसकेको परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीले बताए।

हामीले प्रयास गरेका हौँ तर उता चिनियाँ पक्षबाट अहिले भेट्न आवश्यक नरहेको भन्ने कुरा आयो।’

ती अधिकारीले भने, ‘हामीले प्रयास गरेका हौँ तर उता चिनियाँ पक्षबाट अहिले भेट्न आवश्यक नरहेको भन्ने कुरा आयो।’ ‘क्लोज डिनर’ मा समेत अध्यक्ष नेपाल आमन्त्रित थिएनन्। वाङ आइतबार नै स्वदेश फर्किसकेका छन्।

पछिल्ला गतिविधिले चीनको चाहना वर्तमान सत्ता गठबन्धनभन्दा पनि कम्युनिस्ट गठबन्धन कायम होस् भन्ने रहेको नेपाल–चीन मामिलाका एक विज्ञ बताउँछन्। ‘चिनियाँ पक्षले कम्युनिस्ट गठबन्धन कायम रहोस् भन्ने चाहना राखेको छ। तर चीनले कमजोर शक्तिलाई भने कहिल्यै महत्त्व दिँदैन। चिनियाँ मन्त्रीले माधव नेपाललाई नभेटेर त्यही सन्देश दिएका हुन्’, उनले भने।

नेता नेपालसँग चीनको राम्रो सम्बन्ध रहेको बताइन्छ। यसपटक परराष्ट्रमन्त्रीले भेट नदिनु र डिनरमा समेत नबोलाइनु अर्थपूर्ण रहेको ती विज्ञले बताए। आफूलाई भेट्न नदिएकोमा अध्यक्ष नेपालले परराष्ट्र मन्त्रालय र चिनियाँ दूतावासका अधिकारीसँग पनि गुनासो पोखेका छन्। चिनियाँ पक्षले उत्तर दिएको थियो, ‘उहाँको दल निर्वाचनमा गएर आएपछि भेटिहाल्छौँ। अहिले त उहाँका नेताहरूलाई भेटेका छौँ।’

यस्तै चीनले अहिले माधव नेपाल र उनको दल एकीकृत समाजवादीसँग कुनै अपेक्षा नराखेको देखिएको परराष्ट्र मन्त्रालयका एक अधिकारीले बताए। ती अधिकारीले भने, ‘प्रमुख प्रतिपक्षी एमाले र सत्तारुढ घटकका मुख्य खेलाडी पुष्पकमल दाहाल प्रचण्डलाई भेटेपछि भइहाल्यो नि भन्ने उनीहरूको निष्कर्ष रह्यो।’

परराष्ट्रमन्त्री डा। नारायण खड्काको निमन्त्रणामा आएका वाङले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेका थिए। राष्ट्रपति र प्रधानमन्त्रीसँग शिष्टाचार भेट भए पनि एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष दाहालसँग भने कम्युनिस्ट एकताका विषयमा कुराकानी भएको बताइएको छ।

उसो त यी दुई दलका तर्फबाट हालै भिन्नभिन्न टोलीले चीन भ्रमण गरेका छन्। वाङ नेपाल आउनुअघि एमाले नेता विष्णु पौडेलको नेतृत्वमा एउटा टोली चीन पुगेको थियो। कम्युनिस्ट एकताका लागि पहल गर्न टोली चीन गएको बुझाइ अधिकांशको छ। पौडेलका साथमा पुष्पराज कँडेल, मीना सिंह, काशिनाथ अधिकारी चीन गएका थिए।

उनीहरु तीन दिन बसेर फर्केपछि माओवादी केन्द्रका वर्षमान पुन, ओनसरी घर्तीमगर र देव गुरुङ पनि चीन पुगेका थिए। चीनका परराष्ट्रमन्त्री वाङको भ्रमणलाई मधेसी दलले भने त्यति सकारात्मक लिएका छैनन्। यसअघि भएका सहमति कार्यान्वयन नगरेको चीन नयाँ सहमतिका लागि किन तत्पर देखिएको छरु’मधेसी दलका एक नेताले प्रश्न गरे।

परराष्ट्रमन्त्री वाङ चीनका प्रभावशाली नेता मानिन्छन्। स्टेट काउन्सिलरसमेत रहेका वाङ आगामी मेमा पार्टीमा बढुवा हुने सम्भावना भएका नेता हुन्। उनीभन्दा माथिल्लो तहमा रहेका याङ जेइछीले अवकाश पाउँदै छन्। याङ पोलिटब्युरो कमिटी सदस्य हुन्। २०१३ देखि विदेश मन्त्रालयमा रहेका वाङ २०१८ देखि स्टेट काउन्सिलरको समेत जिम्मेवारी छन्।

चिनियाँ परराष्ट्रमन्त्री वाङ आइतबार चीन फर्किएका छन्। वाङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव भरतराज पौड्यालले बिदाइ गरेका थिए। उनको भम्रणका क्रममा शनिबार नेपाल नेपाल र चीनबीच ९ बुँदे समझदारीमा हस्ताक्षर भएको छ। यस्तै उनले शनिबार शिवपुरीमा हाइकिङ गरे। परराष्ट्रमन्त्री नारायण खड्काको निमन्त्रणामा नेपाल आएका वाङले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेका थिए।

१३ चैत २०७८, आइतवार २१:२४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु