नेपालमा वाङ यी : चीनको अरुची चिर्ने अवसर

उत्तरी छिमेकी चीन केही विषयमा सशंकित रहेको चर्चा चलिरहेका बेला चिनियाँ परराष्ट्रमन्त्री वाङ यी नेपाल भ्रमणमा छन् । जानकारहरूका अनुसार शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि चीनतर्फको सीमाबारे अध्ययन गर्न टोली गठन र संसद्‌बाट एमसीसी सम्झौता अनुमोदनका विषयमा चीन सशंकित छ।

शुक्रबार साँझ काठमाडौँ उत्रन लागेका वाङले नेपाली समकक्षी डा। नारायण खड्कासँग द्विपक्षीय औपचारिक वार्ता गर्ने कार्यक्रम छ। यस्तै उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेट गर्नेछन्। यी विषयमा वाङ कसरी प्रस्तुत होलान् भन्ने चासो कूटनीतिक वृत्तमा छ।

देउवा नेतृत्वमा सरकार बनेपछि नेपालमा भएका दुई गतिविधिमा चीन त्यति सन्तुष्ट नरहेको बुझाइ कूटनीतिज्ञहरूको छ। पहिलो, चिनियाँ सीमाबारे अध्ययन गर्न अध्ययन गर्न समिति बनाउनु। उत्तरी सीमाबारे अध्ययन गर्न समिति बन्दा दक्षिणमा सिमानाको विषय चर्को रूपमा उठिरहेको थियो। भारततर्फको सीमाबारे नबोली देउवा नेतृत्वको सरकार चीनतर्फको सीमा अध्ययन गर्न अग्रसर भएको आलोचना हुने गरेको छ।

यस्तै दोस्रो विषय हो, एमसीसी सम्झौता अनुमोदन। एमसीसीलाई नेपालका वामपन्थी दलहरूले राष्ट्रियताको विषय बनाएका थिए। सम्झौता लामो समयसम्म अड्किएको थियो। तर कांग्रेस नेतृत्वमा सरकार आएपछि एमसीसी सम्झौता अनुमोदन भयो। चीनले एमसीसीबारे नेपाललाई दबाब नदिन भनी टिप्पणी गरेको थियो।

वाङको भ्रमणका बेला पछिल्ला समस्यासहित अन्य दुई पक्षीय सम्बन्धका बारेमा स्पष्ट छलफल हुनुपर्ने विज्ञहरू बताउँछन्। उनीहरूका अनुसार दुई पक्षीय व्यापार, यसअघि भएका सम्झौता कार्यान्वयन, बीआरआई, बदलिँदो विश्व राजनीतिका सन्दर्भमा दुई छिमेकी मुलुकबीचको सम्बन्धमा त छलफल हुनुपर्छ नै। अस्पष्ट विषयलाई प्रस्ट बनाएर सम्बन्ध सुदृढ बनाउनुपर्ने उनीहरूको सुझाव छ।

उच्चस्तरीय भेटमा वाङ कसरी प्रस्तुत हुन्छन् भन्दा पनि नेपालका तर्फबाट विषयमा स्पष्ट पार्नुपर्ने बताउँछन् पूर्वपरराष्ट्रमन्त्री डा। भेषबहादुर थापा। उनी भन्छन्, ‘चीनले नरुचाएका विषयमा नेपालले वाङको भ्रमणमा प्रस्ट पार्नुपर्छ। नेपालको बाध्यता देखाएर सरकारले चीनको विश्वास जित्नुपर्छ।’

कताकता नेपालले चीनलाई कम प्राथमिकतामा राखेको हो कि भन्ने आशंका चीनले गरेका बेला वाङको नेपाल भ्रमण हुनु नेपालका लागि महत्त्वपूर्ण रहेको उनको बुझाइ छ। भारतका लागि नेपालका पूर्वराजदूतसमेत रहेका थापा चीन र भारत नेपालको नीति समान रहेको देखाउन सक्नुपर्ने बताउँछन्।

नेपालका राजनीतिक दलका नेतामा सत्ता केन्द्रमा राखेर अन्तर्राष्ट्रिय सम्बन्ध राख्ने प्रवृत्ति रहेको टिप्पणी गर्दै उनी भन्छन्, ‘देश बन्ने कि नबन्ने भन्ने विषय अन्तर्राष्ट्रिय सम्बन्धको केन्द्र हुनुपर्छ। वाङको भ्रमणलाई यो दृष्टिबाट हेरिनुपर्छ।’

पूर्वराजदूत टंक कार्की पनि नेपालले अमेरिकाभन्दा चीन नेपालको प्राथमिकता हो भनेर प्रस्ट भन्न सक्नुपर्ने बताउँछन्। ‘गाह्रो साह्रो पर्दा छिमेकको चीनले नेपाललाई बुझ्न सक्छ कि अमेरिकालेरु पक्कै कोसौँ टाढा रहेको अमेरिकाले भन्दा पहिले चीनले बुझ्न सक्छ। यो नेपालले प्रस्ट भन्न सक्नुपर्छ’, कार्कीले भने। तर नेपालको राज्य सत्तामा ‘रातो फुली भन्दा सेता छाला ठूलो मान्ने प्रवृत्ति’ देखिएको उनको टिप्पणी छ।

वाङको नेपाल भ्रमणमा बीआरआई सम्झौता कार्यान्वयनबारे छलफल हुनुपर्ने उनी बताउँछन्। भारतीय नाकाबन्दीका बेला चीनसँग पेट्रोलियम पदार्थ ल्याउने भनेर सम्झौता भएको थियो। पछि फेरि भारतसँगै सम्झौता भएपछि चीनसँगको सम्झौता कार्यान्वयन हुन सकेन।

‘चीनलाई खाली नेपालले भारतसँग बार्गेनिङ गर्ने टुल्स मात्रै बनाउन खोजेको हो कि भन्ने चिनियाँलाई परेको हुन सक्छ’, कार्की भन्छन्, ‘यस्तोमा नेपालले प्रस्ट पार्न सक्नुपर्छ।’ राजदूत कार्की चिनियाँ पक्ष असन्तुष्ट रहेका विषयलाई स्पष्ट पार्न सके मात्र सम्बन्धमा नयाँ आयाम थपिन सक्ने बताउँछन्।

११ चैत २०७८, शुक्रवार १०:४७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु