आज निर्णायक वार्ता
काठमाडौं,मङ्सिर १ । आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र प्रमुख तीन दलबीच आज निर्णायक वार्ता हुने भएको छ । आजको वार्तामा प्रतिपक्षी नेपाली कांग्रेस पनि सहभागी हुनेछ । मोर्चाको आन्दोलनका कारण देश ठूलो संकटमा फस्दै गएका बेला उच्च राजनीतिक तहबाटै समाधान खोज्ने प्रयास अनुरुप निर्णायक वार्ताको तयारी गरिएको हो । सिमाकंन र संविधानप्रति असहमति जनाउँदै मोर्चाले गरेको आन्दोलन तीन महिना पूरा भएपछि मात्रै अहिले प्रमुख राजनीतिक दलहरु मोर्चाका मागप्रति गम्भीर देखिएका छन् ।
मधेशी मोर्चाका नेताहरुले भने वार्ता हुने बिषयमा औपचारिक जानकारी प्राप्त नभएको प्रतिक्रिया दिएका छन् ।
मधेशको समस्या समाधानका लागि सत्तारुढ दल मात्रै नभएर कांग्रेस पनि सहमत हुनुपर्ने मोर्चाको धारणा आएपछि सुरुमा कांग्रेसले नै सक्रियता बढाएको थियो ।
सरकारले प्रदेशको सिमाकंन हेरफेर राजनीतिक सहमतिका आधारमा मात्रै गर्ने बटम लाइन बनाएको छ । आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासँग आज हुने वार्ताका लागि सरकारले यस्तो बटम लाइन बनाएको हो ।
अन्य केही माग भने अघिल्लो सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन विधेयक अघि बढाएर पूरा गर्ने सरकारको तयारी छ ।
समानुपातिक समावेशी प्रतिनिधित्व र जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण विषयमा संसदमा दर्ता संविधान संशोधन विधेयक सरकारले अघि बढाउनेछ ।
२ मंसिर २०७२, बुधवार ०२:२३ बजे प्रकाशित