दिल्ली लगिएका बर्षमानको स्वास्थ्य थप जटिल
स्वास्थ्य अवस्था गम्भिर भएपछि उपचारका लागी दिल्ली लगिएका एकीकृत नेकपा माओवादीका सचिव बर्षमान पुन (अनन्त)को अवस्था थप गम्भिर बनेको छ।
नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा उपचाररत उनको स्वास्थ्यमा एक सातादेखि कुनै सुधार नआएको उपचारमा संलग्न चिकित्सकले बताएको उनका एमाओवादीका नेताहरुले बताएका छन् ।
कलेजोको संक्रमण बढ्दै गएपछि पुनलाई गत मंगलबार भारत लगिएको थियो । चिकित्सकहरुका अनुसार पुनको शरिरमा जण्डिसको मात्रा अस्वाभाविक रुपमा बढेको छ ।
कलेजोमा संक्रमण देखिएकाले यस्तो स्थिति आएको चिकित्सकहरु बताउँछन् । ‘डाक्टरहरुले कलेजोको क्यान्सर भएको शंका गरेका छन् । अन्तिम रिपोर्ट आउन तीन दिन लाग्छ रे ।
४४ वर्षीय पुनमा खाना नरुच्ने, निद्रा नलाग्ने र तौल घट्दै जाने समस्या पनि देखिएको छ । सुरुमा उनमा हेपाटाइटिस ‘ई’ देखिएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि पुनलाई थापाथलीस्थित नर्भिक अस्पताल र जावलाखेलस्थित सुमेरु अस्पतालमा भर्ना गरेर उपचारसमेत गरिएको थियो । नेपालमा उपचार सम्भव नभएपछि उनलाई भारत लगिएको हो ।
भारतमा पुनको साथमा बहिनी सुशीला छिन् । पुनको रेखदेख गर्न र सुशीलालाई सघाउन उपराष्ट्रपति नन्दबहादुर पुन पासाङका कान्छा छोरा दिपेश बुधबार नयाँदिल्ली जाँदैछन् ।
सभामुखसमेत रहेकी श्रीमती ओनसरी घर्ती भने काठमाडौंमै रहेकी छन् । सम्भवतः घर्ती बुधबार पनि स्वास्थ्यमा कुनै सुधार नआए त्यता जाने बताइएको छ।
१ मंसिर २०७२, मंगलवार १७:०४ बजे प्रकाशित