मधेसी मोर्चासंग प्रधानमन्त्रीले नै वार्ता गर्नुपर्ने !

काठमाडौँ, मङ्सिर १५ । नवगठित तथा नयाँ माग अघि सार्ने सङ्घीय समावेशी मधेसी गठबन्धनले मधेसी मोर्चासंग प्रधानमन्त्री केपी ओलीले नै गम्भिर छलफल र वार्ता गर्नुपर्ने बताएको छ।
रिपोर्टर्स क्लबद्वारा मंगलबार राजधानीमा आयोजित अन्तक्र्रियामा गठबन्धनका नेताहरुले राज्य र आन्दोलनमा देखिएका अतिवादीले मुलुकमा झनै अन्योल सिर्जना गरेकाले त्यसको अन्त्य तथा दीर्घकालीन समाधानका लागि सरकारले सबैसँग वार्ता गर्नुपर्नेमा नेताहरुले जोड दिएका थिए ।
राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरत्सिंह भण्डारीले मधेसको समस्या देशको भएकाले देशभित्रैबाट समस्याको समाधान खोज्नुपर्ने बताउँदै मधेस आन्दोलनविरुद्ध चुरे भावरलाई प्रयोग गरिएको घटनाले साम्प्रदायिकता बढ्ने चिन्ता व्यक्त गरेका थिए ।
उनले मधेसका २२ जिल्लामा ३९ प्रतिशत पर्वते, ३८ प्रतिशत मधेसी, १२ प्रतिशत थारु र १० प्रतिशत मुसलमान रहेकाले ‘मधेसीका लागि मधेस प्रदेश’ मात्रै भन्ने कुरा गलत भएको दाबी गरे ।
तराई मधेस राष्ट्रिय अभियानका संयोजक जयप्रकाशप्रसाद गुप्ताले समस्या समाधानमा प्रमुख नेताहरु गम्भीर नदेखिएको बताउँदै अहिले पूरा गर्न सकिने माग सम्बोधन गरी बाँकी मागमा छलफल गर्दै अघि बढ्नुपर्ने सुझाव दिए ।
नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झाले मधेसको अधिकारका लागि आन्दोलन दुई दशकअघिदेखि नै चलिरहेको बताउँदै सम्भव भएका विषयलाई वैज्ञानिक ढङ्गले अविलम्ब सम्बोधन गरी अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।
१५ मंसिर २०७२, मंगलवार १२:३८ बजे प्रकाशित