काठमाडौंलाई सांस्कृतिक राजधानी बनाएर प्रशासनिक राजधानी अन्तै जान सक्छ : प्रचण्ड

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आवश्यकता अनुसार काठमाडौंलाई सांस्कृतिक राजधानी बनाएर प्रशासनिक राजधानी अन्तै जान सक्ने बताएका छन् ।

मंगलवार प्रधानमन्त्री निवास वालुवाटारमा तीन नम्बर प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्य, अध्यक्ष नारायण दाहाल, सचिव आनन्द पोखरेल, नेताहरु राजेन्द्र पाण्डे, पशुपति चौलागाईलगायत केही मन्त्री र प्रमुख सचेतकहरुसँगको भेटमा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । बैठकमा अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, महासचिव बिष्णु पौडेल लगायतका नेताहरु पनि सहभागि थिए ।

छलफलमा अध्यक्ष प्रचण्डले पहिचानको राजधानी आफ्नै नेतृत्वमा भएको भन्दै आफूले अहिले मुलुक बचाउने बाटो लिएको बताएका थिए । उनले अहिलेका राजधानीहरु सधैंभरका लागि नहुने भन्दै भोलि आवश्यकता अनुसार प्रदेशकै पुनसंरचना हुने बताएका हुन ।

प्रचण्डको भनाइ थियो, ‘राजधानी भनेको केन्द्रको पनि स्थायी हुँदैन । भोलि काठमाडौंलाई सांस्कृतिक राजधानी बनाएर प्रशासनिक राजधानी अन्तै जान पनि सक्छ । प्रदेशका राजधानीमा पनि तपाईहरु धेरै अडान नलिनुस् । बाँके बर्दिया भोलि कर्णालीमा जान सक्छन्, हेटौंडालाई माझमा पार्न बारा पर्सा रौतहट प्रदेश ३ मा रामेछाप, दोलखा सिन्धुली प्रदेश २ मा जान पनि सक्छन् ।’

प्रदेश ३ को राजधानी हिउँदमा हेटौंडा बनाउने नेकपाको सचिवालयको निर्णयका ठीक नभएको भन्दै वालुवाटार पुगेका नेताहरु निराश भएर फर्किएका छन् । हेटौंडाको पक्षमा ह्वीप जारी गर्नुअघि अन्तिम पटक छलफल गर्न नेकपा नेतृत्वले प्रदेश इन्चार्ज सहितका नेताहरुलाई मंगलबार प्रधानमन्त्री निवास बालुवाटार बोलाएका थिए ।

२३ पुस २०७६, बुधवार १५:०६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु