मन्त्रिपरिषद् बैठक स्थगित
इपब्लिक खबर संवाददाता, काठमाण्डौँ ।
मन्त्रिपरिषद्को आज बस्ने भनिएको बैठक स्थगित भएको छ । दिउसो ४ बजेलाई बोलाइएको बैठक प्रधानमन्त्री सुशील कोइराला र कांग्रेसका मन्त्रीहरु केन्द्रिय समितिमा ब्यस्त भएकाले स्थगित भएको जनाईएको छ । बैठकमा दशैं बिदा, आपूर्ति ब्यबस्थापन र मन्त्रालयगत एजेण्डामा छलफल हुने कार्यसुचि थियो । नाकबन्दिले ईन्धन अभाव भएको कारण देखाउँदै सरकारले यो वर्ष घटस्थापनादेखि नै सरकारी कार्यालयमा विदा दिने भएको छ । सरकारी कार्यालयहरु यही असोज २६ देखि कार्तिक १० गतेसम्म १५ दिन बन्द गर्ने सरकारी तयारी छ । यस्तै आर्थिक सहायता वितरण सम्बन्धी कानुन, नियमावली, निर्देशिका उलंघन गर्दै दशैं खर्च बाँडिरहेको सरकारले आज थप निर्णय गर्ने बताईएको थियो ।मन्त्रिपरिषद्बाट निर्णय भए अनुसार अहिलेको परिस्थिति सहज नबन्दासम्म हवाई इन्धन, पेट्रोल, डिजेल, मट्टितेल तथा खाना पकाउने एलपी ग्यास विश्व बजारबाट ल्याउन निगमले बोलपत्र आह्वान गरेको हो । कुनै पनि मुलुकबाट खरिद गरी जुनसुकै मार्गबाट पेट्रोलियम पदार्थ आपूर्ति गर्न सकिने जनाईएको छ ।
निगमले आपूर्ति व्यवस्थालाई सहज बनाउने उद्देश्यले इच्छुक आपूर्तिकर्ताले तीन दिनभित्र अहिलेलाई १५ दिनका लागि प्रतिदिन डिजल २०० किलोलिटर, पेट्रोल १०० किलोलिटर, हवाई इन्धन र मट्टितेल २००÷२०० किलोलिटर र खाना पकाउने ग्यास १०० मेट्रिक टन आपूर्ति गर्नुपर्नेछ ।
यो परिमाणको पेट्रोलियम पदार्थ ल्याउन सक्ने जुनसुकै फर्म तथा संस्थाले बोलपत्रमा सहभागी हुन सक्नेछ ।
विशेष परिस्थितिमा निगमलाई सोझै वार्ताबाट, प्रस्ताव लिएर, सहमतिबाट वा बोलपत्र आह्वान गरेर पेट्रोलियम पदार्थ खरिद सक्ने अधिकार छ ।
यही अधिकार प्रयोग गरी विश्वव्यापी बोलपत्र आह्वान गरिएको निगमले जनाएको छ ।
२१ असोज २०७२, बिहीवार १५:१२ बजे प्रकाशित