सेनालाई साथमा लिएर सडक निर्माण गर्न सरकारलाई विकास समितिको निर्देशन
काठमाडौं, ८ फागुन । नेपाली सेनालाई साथमा लिएर सडक निर्माण तीव्र बनाउन सरकारलाई संसदको विकास समितिले निर्देशन दिएको छ । कठिन भूभागमा ट्रयाक खोल्ने तथा विभिन्न सडक निर्माणमा सेनाको भूमिका प्रभाकारी देखिएको ठहर गर्दै समितिले यस्तो निर्देशन दिएको हो ।
नेपाली सेना, सडक विभाग र डोलिडारले आपसी समन्वय र सहकार्य गरे द्रुतगतिमा सडक सञ्जाल विस्तार हुन सक्ने समितिको आइतबारको बैठकको निश्कर्ष छ । सेनाले निश्चित समयभित्र कति काम गर्ने हो स्पष्ट किटान गर्न र आवश्यक बजेटको अख्तियारी समयमै प्रदान गर्न पनि विकास समितिले निर्देशन दिएको छ । समितिले यस आर्थिक वर्षमा नेपाली सेनाले निर्माण गरिने भनिएका सडकखण्डहरुको लागि आवश्यक बजेट १५ दिनभित्र उपलब्ध गराउन, विस्फोटक पदार्थको आयातमा देखिएको समस्या कूटनीतिक पहलमार्फत समाधान गर्न पनि सरकारलाई निर्देशन दिएको छ ।
८ फागुन २०७३, आइतवार १३:१६ बजे प्रकाशित