राप्रपाको भावी रणनीतिका बारेमा समीक्षा तथा छलफल सुरु
काठमाडौं ७, फागुन । शुक्रबारदेखि सुरु भएको राप्रपाको एकता महाधिवेशन अन्तर्गत शनिबार बन्दसत्र चलिरहेको छ । काठमाडौंको भृकुटीमण्डपमा जारी बन्दसत्रमा राजनीतिक विषयवस्तु तथा पार्टीको भावी रणनीतिका बारेमा समीक्षा तथा छलफल सुरु भएको छ । बन्दसत्रमा पार्टीका अध्यक्ष कमल थापाले राजनीतिक कार्यपत्र तथा राष्ट्रिय अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले आर्थिक कार्यपत्र प्रस्तुत गरेका छन् । अध्यक्ष थापाको राजनीतिक कार्यपत्रमा हिन्दू राष्ट्र र संवैधानिक राजतन्त्र कायम गर्ने पार्टीको वैचारिक दृष्टिकोण छ । सङ्घीयताका विकल्पमा स्थानीय स्वायत्त शासनलाई प्राथमिकता दिने सो दस्तावेजमा उल्लेख छ । त्यसैगरी अध्यक्ष डा.लोहनीका कार्यपत्रमा आर्थिक उदारवादका माध्यमबाट सामाकि रुपान्तरण कायम गर्ने उपाय प्रस्तुत गरिएको छ ।
नेतृत्वमा अध्यक्ष कमल थापा र नेता डा.प्रकाशचन्द्र लोहनीले दाबेदारी प्रस्तुत गरेका छन् । तीन दिनअघि नेता लोकेन्द्र बहादुर चन्दको घरमा राप्रपाका चार नेताहरुबीच कमल थापालाई अध्यक्षको नेतृत्व दिने समझदारी भएपनि लोहनीले त्यसलाई तोडेका हुन् । पार्टी एकीकरणको बेला चुनाव चिन्ह हलो रहने भन्ने सहमतिलाई अहिले उल्टाइएको तथा पदाधिकारीसहितमा प्याकेजमै सहमति गर्ने भनिएको भएपनि त्यसमा दायाँबायाँ गर्न खोजिएकाले स्वीकार्य नभएको लोहनीको भनाई छ ।
४०० बढी नेताहरु केन्द्रीय सदस्यको आकांक्षी
राप्रपाले चुनावी कार्यतालिका सार्वजनिक गरिनसकेको भएपनि ४०० बढी नेताहरु केन्द्रीय सदस्यको आकांक्षी रहेको बताइएको छ । ती मध्ये ६० प्रतिशत समानुपातिक समावेशी सिद्धान्तको आधारमा महाधिवेशनबाट प्रत्यक्ष निर्वाचित हुनेछन् भने बाँकी मनोनित हुनेछन् । यस्तै मदाधिकारीपनि केन्द्रीय सदस्यमध्येबाट मनोनित हुनेछन् । महाधिवेशनमा ३५०० को हाराहारीमा प्रतिनिधि रहेका छन् ।
७ फागुन २०७३, शनिवार ०६:४५ बजे प्रकाशित