६७ औँ राष्ट्रिय प्रजातन्त्र दिवसः राष्ट्रपति देखि पूर्वराजा सम्म, कसले के भनेर दिए ‘शुभकामना सन्देश’

काठमाडौं ७, फागुन । आज (शनिबार) देशभर विभिन्न कार्यक्रम गरी ६७ औँ राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदैछ । एक सय चार वर्षीय जहानियाँ राणा शासनको विरुद्धमा जनताले आन्दोलन गरी रगत बगाएपछि राणा शासकले जनतासमक्ष घुँडा टेक्न बाध्य भयो र प्रजातन्त्र स्थापना भएको घोषणा गरियो । तत्कालीन राजा त्रिभुवनको घोषणापछि राणा र नेपाली काँग्रेस सम्मिलित सरकार गठन भई नेपालमा प्रजातान्त्रिक शासनकालको सूत्रपात भएको थियो । प्रजातन्त्र स्थापनाका लागि भएको सङ्घर्षमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठले विसं १९९७ माघमा बलिदानी दिनुभएको थियो । प्रजा परिषद् नामक राजनीतिक दल भूमिगत रुपमा स्थापना गरी प्रजातन्त्र स्थापनाका लागि जनतामा जागरण ल्याएको अभियोगमा उहाँहरूलाई मृत्युदण्ड दिइएको थियो ।

विसं २००० पछि स्थापना भएको नेपाल प्रजातन्त्र काँग्रेस र नेपाल राष्ट्रिय काँग्रेसको २००६ सालमा एकीकरणपछि नेपाली काँग्रेसका संस्थापक नेता बिपी कोइरालाको नेतृत्वमा भएको सशस्त्र र निर्णायक आन्दोलनले नेपालमा २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना गरेको थियो । फागुन ७ मा प्रजातन्त्र स्थापना भएको सम्झनामा सरकारले प्रत्येक वर्ष राजधानीको टुँडिखेलमा औपचारिक कार्यक्रमको आयोजना गरी विशेष रुपमा यो दिवस मनाउँदै आएको छ । दिवसका उपलक्ष्यमा सार्वजनिक बिदा समेत दिने गरिएको छ । विसं २००७ फागुन ७ गते प्रजातन्त्र स्थापना भएको सम्झनामा ६७ औँ राष्ट्रिय प्रजातन्त्र दिवसमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगाएत पार्टीका नेताले शुभकामना सन्देश दिएका छन् ।

प्रजातन्त्र दिवसले सबैलाई अघि बढ्ने प्रेरणा प्रदान गरोस्ः राष्ट्रपति भण्डारी
राष्ट्रपति विद्यादेवी भण्डारीले ६७ औँ राष्ट्रिय प्रजातन्त्र दिवसले सबैलाई प्रजातन्त्रको आधारभूत मूल्य र मान्यता आत्मसात् गर्दै अघि बढ्ने प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेकी छन् ।

इतिहासको लामो कालखण्डको विविध आरोह–अवरोहको उचित मूल्याङ्कन गर्दै त्यसबाट प्राप्त अनुभव तथा पाठबाट निर्दे्शित भएर सुशासन, शान्ति र सहमतिलाई आत्मसात् गरी अगाडि बढ्नु हाम्रो साझा जिम्मेवारी र दायित्व हो भन्दै आफ्नो शुभकामना सन्देशमा राष्ट्रपतिले संविधानले व्यवस्था गरेअनुसारको आवधिक निर्वाचनमार्फत नागरिक अधिकारको सम्मान गर्नुपर्नेमा जोड दिएकी छन् । प्रजातन्त्रका लागि आफ्नो जीवन उत्सर्ग गर्ने सम्पूर्ण ज्ञातअज्ञात सहिदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उनले प्रजातन्त्रलाई जीवन पद्धति बनाएर अगाडि बढ्ने प्रेरणासबै नेपालीमा प्राप्त हुन सकोस् भन्ने शुभकामना दिएकी छन् ।

आर्थिक समृद्धिको दिशामा अगाडि बढ्नु आजको आवश्यकता: प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहालले संविधानप्रति मुलुकका सबै समुदायको स्वीकार्यता फराकिलो बनाउने हेतुले सरकारले ल्याएको संविधान संशोधन विधेयकमा सबैको सहमति जुटाउने प्रयत्न सघन रुपमा अगाडि बढिरहेको बताएका छन् ।

६७ औँ प्रजातन्त्र दिवसका अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री दाहालले संविधानको स्वीकार्यता बढाएर त्यसको कार्यान्वयन गर्नु तथा हिमाल, पहाड र तराईका सबै जातजाति, भाषा, धर्म र समुदायको सुदृढ राष्ट्रिय एकताका बलमा आर्थिक समृद्धिको दिशामा अगाडि बढ्नु आजको आवश्यकता भएको उल्लेख गरेका छन् । उनले राष्ट्रिय एकतालाई मजबुत बनाउन र नेपाललाई समृद्धिको दिशातर्फ उन्मुख गराउन आआफ्नो ठाउँबाट योगदान गर्न सबै राजनीतिक दल, राष्ट्रसेवक कर्मचारी, सबै सुरक्षा निकाय तथा नेपाली दिदीबहिनी तथा दाजुभाइमा आह्वानसमेत गरेका छन् ।

पहिलो सर्त उत्तरदायी नेतृत्व: पूर्वराजा ज्ञानेन्द्र शाह
पूर्व राजा ज्ञानेन्द्र शाहले प्रजातन्त्रको पहिलो सर्त उत्तरदायी नेतृत्व हुनुपर्ने बताएका छन् । कोमलको जन्मोत्सव मनाउन चितवन पुगेका शाहले ६७ औं प्रजातन्त्र दिवसको अवसरमा वक्तव्य जारी गरि आफ्नै आस्था र विश्वासको जगलाइ अँगाल्नुपर्ने उल्लेख गरेका छन् ।

प्रजातन्त्र आधुनिक विश्व राज्य व्यवस्थाको एक सुन्दर अलंकार मात्र होइन मानवीय हक र हितको आधार स्तम्भ पनि हो प्रजातन्त्रमा राजनीतिक पद्धतीको अनेक रुप हुन सक्छन् । तर, जुनसुकै नामका प्रणाली भएपनि प्रजातन्त्रको पहिले सर्त जनताप्रति उत्तरदायी नेर्तत्व हुनपर्दछ ।, पूर्वराजा शाहले आफ्नो वक्तव्यमा भनेका छन् ।

७ फागुन २०७३, शनिवार ०७:२३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु