आज नवौं गणतन्त्र दिवस
काठमाडौँ । आज नवौं गणतन्त्र दिवस । विक्रम सम्वत् २०६५ साल जेठ १५ गते ऐतिहाँसिक संविधानसभाको पहिलो बैठकले एक शताब्दी लामो राजतन्त्रको अन्त्य गरी नेपाललाई संघीय गणतान्त्रिक मुलुक घोषणा गरेको थियो । जनआन्दोलन २०६२÷६३ को जगमा गणतन्त्र घोषणा भएको ऐतिहाँसिक दिनको स्मरण गर्दै हरेक वर्ष जेठ १५ गते देशभर विभिन्न कार्यक्रम गरी यो मनाइदैछ । १० वर्षे सशस्त्र जनयुद्ध र १९ दिने जनआन्दोलको बलमा स्थापित जहानियाँ राजतन्त्र अन्त्य भएर मुलुक गणतन्त्रमय बनेको थियो । ऐतिहाँसिक दिनको सम्मान स्वरुप सरकारले आज सार्वजनिक बिदा दिएको छ ।
यस वर्षको गणतन्त्र दिवस भव्यताका साथ मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको थियो । उक्त समितिले २०७३ जेठ १४, १५ र १६ गते मुलुकभर लगातार विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाउने निर्णय गरेको थियो । गणतन्त्र दिवसका अवसरमा आज ७५ वटै जिल्लामा प्रभातफेरी, खेलकुद, प्रवचन, गोष्ठी एवं साँस्कृतिक कार्यक्रम समेत हुँदैछ । त्यसैगरी विदेशस्थित नेपाली राजदुतावास, नियोग तथा वाणिज्य दूतावासहरुमा विभिन्न कार्यक्रम गरिनेछ भने साँझमा दीपावलीको कार्यक्रम समेत राखिएको छ । सरकारले गत वर्ष भने गणतन्त्र दिवस मनाएन । महाभूकम्पका कारण सिंगो देश नै पिडामा डुबेको भन्दै दिवस नमनाउने निर्णय गरेको थियो । गणतन्त्र स्थापनाको खुसियालीमा राजधानी काठमाडौंमा गणतन्त्र स्मारकको निर्माण थालिएको छ । करीव ५० करोड रुपैंयाको लागतमा निर्माण भइरहेको स्मारकमा गणतन्त्र स्तम्भ सहित वरिपरि बगैंचा बनाइने सरकारी योजना रहेको छ । जमिन मुनी र माथी गरी स्मारक दुई तले हुने जनाइएको छ । स्मारकमा गणतन्त्र प्राप्तिका क्रममा शहिद भएका व्यक्तिहरुको विवरण राखिने छ ।
१५ जेठ २०७३, शनिवार ०२:०६ बजे प्रकाशित