बजेट विवरण पेस गर्न सबै मन्त्रालयलाई आग्रह
काठमाण्डौँ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले आउँदो आर्थिक वर्षका लागि आवश्यक पर्ने बजेट तथा कार्यक्रमको विवरण पेस गर्न सबै मन्त्रालयलाई आग्रह गरेको छ । विपद्पछिको आवश्यकता आँकलन प्रतिवेदन पिडिएनएमा उल्लिखित सबै मन्त्रालय तथा निकायलाई बजेट पेस गर्न पत्राचार गरिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले अनुदान सम्झौताका लागि योग्य घरधनीलाई पहिलो किस्ताको रकम उपलब्ध गराउन ११ अर्ब ६७ करोड ७९ लाख थप रकम निकासा गरिएको प्रवक्ता रामप्रसाद थपलियाले जानकारी दिए । यसअघि ९१ करोड ९९ लाख ४२ हजार घरधनीलाई अनुदान दिन निकासा गरिएको प्रबक्ता थपलियाले उल्लेख गरे । गोरखा, मकवानपुर, धादिङ, नुवाकोट, सिन्धुपाल्चोक, रामेछाप, काभ्रेपलाञ्चोक, दोलखा, रसुवा, ओखलढुङ्गा र सिन्धुलीमा जिल्ला समन्वय समितिद्वारा प्रकाशित सूची अनुसार रकम उपलब्ध गराउन प्राधिकरणले रकम निकासा गरेको हो । यसअघि प्राधिकरणले १२ अर्ब ५९ करोड ७८ लाख ४२ हजार रुपैयाँ भूकम्पबाट पूर्ण रुपमा घर क्षति भएका नागरिकलाई दिन निकासा गरिसकेको छ ।
१९ वैशाख २०७३, आइतवार १५:१६ बजे प्रकाशित