नेकपाका दुवै समूहलाई शुक्रबार निर्वाचन आयोगले किन बोलायो ?
निर्वाचन आयोगले नेकपाका दुवै समूहलाई बोलाएको छ ।
आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले शुक्रबार साढे ११ बजे नेकपाका दुवै समूहलाई आयोगको कार्यालयमा बोलाइएको जानकारी दिए ।
‘हामीले नेकपामा दुवै समूहलाई दुई प्रयोजनमा छलफल गर्न भोलि शुक्रबार बिहान साढे ११ बजे आयोगको कार्यालयमा बोलाएका छौं,’ प्रवक्ता श्रेष्ठले भने ।
आयोगले यसअघि नेकपा विभाजनका लागि कानूनी रुपमा स्वीकृति नदिने निर्णय गरिसकेको छ ।
सरकारले आगामी वैशाख १७ र २७ गते मध्यावधि निर्वाचनको घोषणा गरेर सोही अनुसार तयारी गरिरहेको छ ।
आयोगले पनि नामवली प्रकाशन गर्ने, राजनीतिक दल दर्ता गर्नेलगायतका कार्यहरु गरिरहेको छ ।
७७ वटै जिल्लामा मतदान केन्द्र र मतदान स्थलको निर्धारणलगायतको तयारी भइरहेको छ ।
त्यस्तै आयोगले प्रतिनिधि सभा निर्वाचनका लागि करिब ८ अर्ब खर्च लाग्ने अनुमान गरेको छ ।
प्रवक्ता श्रेष्ठका अनुसार आयोगले नेकपाका दुवै समूहलाई मध्यावधि निर्वाचनको तयारी र निर्वाचनका लागि दल दर्ता गर्ने सम्बन्धमा छलफल गर्न आयोगले बोलाएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरी आगामी बैशाख १७ र २७ गते दुई चरणमा मध्यावधि निर्वाचनको मिति तय गरेकी थिइन ।
सत्तारुढ नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले हठातमा प्रतिनिधि सभा विघटन गरेपछि नेकपा दुई समूहमा विभाजित भएको छ ।
दुवै समूहले आफूलाई आधिकारिक दाबी गर्दै दिएको निवेदन खारेज गरेको आयोगले निर्वाचनका सम्बन्धमा छलफल गर्न दुवै समूहलाई बोलाएको हो ।
१५ माघ २०७७, बिहीवार १५:२१ बजे प्रकाशित





