किशोरी शिक्षामा पनि भ्रष्टाचार

धनुषा, ९ फागुन । धनुषामा किशोरी शिक्षामा पनि भ्रष्टाचार भएको छ ।  विद्यालय जानबाट वञ्चित रहेका १० देखि १६ वर्ष उमेरका किशोरीलाई शिक्षा दिने उद्देश्यले गएको वैशाखदेखि सञ्चालनमा ल्याइएको किशोरी शिक्षा अपेक्षाकृत रुपमा प्रभावकारी हुन नसकेको पाइएको छ ।  mदलित, मुस्लिम, जनजातिसहित विद्यालय जानबाट वञ्चित किशोरीलाई आधारभूत तहअन्तर्गत अनौपचारिक शिक्षाका रुपमा किशोरी शिक्षा कार्यक्रम सञ्चालन गरिएको हो । तर कार्यक्रम सञ्चालनको जिम्मा पाएको संस्था लाइफ नेपालले बजेट दुरुपयोग गर्दै शिक्षा कार्यालयलाई जानकारी नै नदिई कागजी रुपमा कार्यक्रम चलाइरहेको जिल्ला शिक्षा कार्यालय धनुषाका कार्यक्रम अधिकृत शशी यादवले बताए ।
युनिसेफको सहयोगमा लाइफ नेपालले जनकपुर उपमहानगरपालिकासहित जिल्लाका ३० स्थानमा किशोरी शिक्षा सञ्चालन गरे पनि पछिल्लो समय नियमित रुपमा कक्षा सञ्चालन नहुँदा योजना प्रभावकारी नभएको जिशिका धनुषाले जनाएको छ ।
जिल्लाको फुलगम्मा र तारापट्टी गाविस, क्षिरेश्वरनाथ नगरपालिका र जनकपुर उपमहानगपालिकासहित ३० स्थानमा सञ्चालन गर्नुपर्ने कक्षा संस्थाको लापरबाहीका कारण नियमित हुन सकेको छैन ।
कार्यक्रम सञ्चालन सम्बन्धमा संस्थाले जिशिका र सम्बन्धित गाविस सचिवलाई जानकारी दिनुपर्ने हुन्छ । तर लाइफ नेपालले कार्यक्रम सञ्चालन भइरहेको बताए पनि सम्बन्धित स्थानीयले कार्यक्रम सञ्चालन नरहेको बताएका छन् ।
कुल ३९ लाख ४८ हजार ७०० को बजेटमध्ये कक्षा नै सञ्चालन नगरी लाइफ नेपालले जिशिका र जिविस धनुषामार्फत १७ लाख ३३ हजार ९३३ रुपैयाँ भुक्तानी गरिसकेको छ ।

९ फागुन २०७२, आइतवार ०६:३१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु