दुई वर्षपछि कतै तुइन देखे फोटो खिचेर सिंहदरबार ल्याउनुस : ओली

15112015125549kp-1000x0काठमाडौँ, २८ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले २०७४ असार मसान्तसम्म सबै तुइन विस्थापित गरी झोलुङ्गे पुल निर्माण गर्ने बताएका छन् ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २२औँ राष्ट्रिय महाधिवेशनको आज यहाँ उद्घाटन गर्दै उनले २०७४ असार मसान्तसम्म नबनाइ नहुने स्थानमा १७६ वटा झोलुङ्गे पुल निर्माण गर्ने बताए ।

प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीको शपथ लिँदा नै दुई वर्षभित्र तुइन विस्थापित गर्ने वचन दिएका थिए । “विसं २०७४ साउन १ गते तुइन कहीँ हुने छैन, यदि कहीँ पाए फोटो खिँचेर सिंहदरबारमा ल्याउनुस्, किनकी एउटा पनि तुइन नै रहने छैन”– प्रधानमन्त्री ओलीले भने ।

दुई वर्षभित्र मुलुकलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ सरकार अघि बढेको भन्दै उहाँले भूकम्पपश्चात् प्राधिकरण निर्माण गरेर पुनःनिर्माणको काम सुरु भइसकेको र आगामी फागुन १२, चैत १२ र वैशाख १२ देखि पुनःनिर्माणको महाअभियानका चरण अघि बढ्ने बताए ।

अब अघोषित नाकाबन्दी अन्त्य भएकाले ग्यास, पेट्रोलियम पद्धार्थ सहज हुने स्पष्ट पार्दै प्रधानमन्त्री ओलीले मुलुकको सार्वभौमसत्ता, स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रियहित र स्वाभिमान झुक्ने खालको काम कहिल्यै नगर्ने प्रतिबद्धता व्यक्त गरे ।

काँग्रेसलाई सरकारमा आउन प्रमको आग्रह

प्रधानमन्त्री केपी ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसलाई सरकारमा आउन आह्वान गर्नुभएको छ ।

“लोकतान्त्रिक राजनीतिक दल सबै एक ठाउँमा छन्, देश निर्माण गर्ने अभियानमा हामी एकजुट होऔँ, नेपाली काँग्रेसलाई पनि सरकारमा आउन म आह्वान गर्छु”– प्रधानमन्त्री ओलीले भन्नुभयो ।

एकीकृत नेकपा (माओवादी) राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाललगायतका धेरै दल सरकारमा सामेल भएको भन्दै उहाँले राष्ट्र निर्माणका काममा काँग्रेस पनि सरकारमा आउनुपर्ने धारणा राखे ।

भारत भ्रमणमा देशलाई नोक्सान हुने काम हुँदैन

प्रधानमन्त्री केपी ओलीले भारत भ्रमणका क्रममा विवादास्पद र नेपाललाई नोक्सान हुने कुनै पनि काम नहुने बताए ।

“नेपाल बुद्धको देश हो, शान्ति र मित्रता फैलाउने हो, राष्ट्रहितका पक्षमा दृढ अडिग रहन्छु”– प्रधानमन्त्री ओलीले भने ।

कार्यक्रममा नेकपा (एमाले) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टीमा गुटबन्दीको अन्त्य गर्नुपर्नेमा जोड दिँदै गुटबन्दी एमालेका लागि घातक भएको धारणा राखे ।

उनले नयाँ संविधान परिर्वतनको दस्तावेज भएकाले त्यसको कार्यान्वयनका लागि सबैले आआफ्नो ठाउँबाट प्रयास गर्नुपर्नेमा जोड दिए ।

पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले शिक्षा क्षेत्रको विकृति विसङ्गति अन्त्यका लागि नेपाली विद्यार्थी आन्दोलनमा अनेरास्ववियुको भूमिका महत्वपूर्ण भएको बताए ।

कार्यक्रममा नेकपा ९एमाले०का महासचिव ईश्वर पोखरेल, सचिव योगेश भट्टराई, युवासङ्घ नेपालका अध्यक्ष राजीव पहारी, अनेरास्ववियु क्रान्तिकारी संयोजक रमेश मल्ललगायतले शैक्षिक गुणस्तर वृद्धि गर्न विद्यार्थी आन्दोलन केन्द्रित हुनुपर्नेमा जोड दिनुभएको थियो । आगामी फागुन १ सम्म हुने सम्मेलनले नयाँ कार्यसमिति चयन गर्नेछ ।

रासस

२८ माघ २०७२, बिहीवार १३:०७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु