पूर्वप्रधानमन्त्री खनालको एकल साँझ !
इलाम, २८ माघ । पूर्वप्रधानमन्त्री झलनाथ खनालद्वारा लिखित गीतको एकल साँझ तथा राष्ट्रिय जनसांस्कृतिक महासङ्घको वार्षिक उत्सव आगामी फागुन ७ गते इलाममा हुने भएको छ ।
महासङ्घको वार्षिक उत्सवका अवसर पारेर फागुन ७ गते जेएन साङ्गीतिक साँझ प्रस्तुत गर्न लागिएको हो । उनले लेखेका १२ वटा गीत उक्त एकल साँझमा प्रस्तुत गरिनेछ ।
त्रिदिवसीय उक्त कार्यक्रममा महासङ्घको राष्ट्रिय बैठक एकल साङ्गीतिक साँझ, साहित्य गोष्ठी, जनसांस्कृतिक कलाकर्मी प्रशिक्षणलगायतका कार्यक्रम तय भएको महासङ्घका इलाम अध्यक्ष दीपकिशोर लिङ्दमले जानकारी दिए ।
कार्यक्रममा इलाम, झापा, पाँचथर र ताप्लेजुङ जिल्लाका महासङ्घमा आबद्ध कलाकर्मीको सहभागिता रहने आज पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
कार्यक्रममा नेपाल ललितकला मञ्च, जन साहित्यिक मञ्च, अन्तरा साङ्गीतिक समूह आदिको अलगअलग प्रस्तुति रहने छ ।
२८ माघ २०७२, बिहीवार १३:१२ बजे प्रकाशित