राप्रपाको अध्यक्षमा चन्द

lokeकाठमाडौं, ११ पुस। राष्ट्रिय प्रजातन्त्र पार्टीको नेतृत्व शनिबारदेखि लोकेन्द्रबहादुर चन्दले सम्हाल्दैछन् । चन्दलाई पार्टी नेतृत्व सुम्पिन शनिबार बोलाइएको केन्द्रीय समिति बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने एजेण्डालाई पनि प्रवेश गराइँदैछ । पार्टी महामन्त्री दीपक बोहोराले मन्त्री बन्दा कुनै निकायबाट निर्णय नगराएको भन्दै असन्तुष्ट पक्षले सरकारबाट फिर्ता हुन दबाव दिँदै आएको छ । बोहोरा मन्त्री बनेको दुई दिन नबित्दै उनको पद धरापमा परेको छ । साथै केपी ओली नेतृत्वको सरकारले भूकम्प पीडितलाई राहत दिन नसकेको, कालोबजारी नियन्त्रण गर्न नसकेको र सरकारको कामकारवाही प्रभावकारी नभएको भन्दै राप्रपामा सरकारको आलोचना हुँदै आएको छ । चक्रीय प्रणालीअनुसार आलोपालो नेतृत्व गर्ने शीर्ष नेताबीच भएको सहमतिअनुरुप शनिबारदेखि वरिष्ठ नेता चन्दले पार्टी नेतृत्व सम्हाल्न लागेका हुन् । हाल पशुपति शम्सेर राणा राप्रपाको अध्यक्ष छन् । यसअघि चक्रीय प्रणालीअनुसार आफूले नेतृत्व पाउनुपर्ने भन्दै चन्दले समानान्तर रुपमा पार्टी सञ्चालनसमेत गरेका थिए । नेतृत्व हस्तान्तरण र समसामयिक राजनीतिक अवस्थाबारे छलफल गर्न शनिबार बस्ने राप्रपा केन्द्रीय कार्यसमितिको बैठकले चन्दलाई पार्टीको अध्यक्ष बनाउने छ । स्रोतका अनुसार आज बैठकको शुरुमै अध्यक्ष पशुपति सम्शेर राणाले राजीनामा दिने र त्यसलगत्तै राणाले नयाँ अध्यक्षका लागि चन्दको नाम प्रस्ताव गर्नेछन् । चन्दलाई अध्यक्ष बनाउन राणाले राख्ने प्रस्तावमा अर्का नेता प्रकाशचन्द्र लोहनीले समर्थन गर्नेछन् ।

११ पुस २०७२, शनिवार ०६:४६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु