मधेस समस्या बारे कांग्रेस र एमाओवादीबिच छलफल

काठमाडौं, पुस ११ – तराईमा लामो समयदेखि भइरहेको आन्दोलनबाट उत्पन्न समस्या समाधानबारे नेपाली कांग्रेस र एकीकृत नेकपा माओवादीबिच छलफल भएको छ । एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास लाजिम्पाटमा भएको छलफल सकारात्मक भएको नेताहरुले बताएका छन् । संसदमा पेश भएको संविधान संसोधन विधयक अघि बढाउने र अहिलेको संकट समाधानको लागि अन्तिम निश्कर्षमा पुग्ने सहमति भएको कांग्रेस महामन्त्री प्रकाशमान सिंहले जानकारी दिनुभयो । कांग्रेसले शनिबार नै आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग पनि छलफल गर्ने तयारी गरेको छ । दिउँसो तीन बजे मोर्चासँग छलफल गरेपछि कांग्रेस, मोर्चा र एकीकृत माओवादीले त्रिपक्षीय छलफलको तयारी गरेका छन् । प्रमुख प्रतिपक्षी कांग्रेसको शुक्रबारको पदाधिकारी बैठकले वार्ता र छलफललाई तीव्रता दिने निर्णय गरेपछि उसले मोर्चासँगको छलफललाई तीव्रता दिन पहल थालेको हो ।

११ पुस २०७२, शनिवार ०६:५८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु