दुई हजार गाँजाको बोट नष्ट |
लहान, पुस ११ । सिरहा प्रहरीले गाँजा फँडानी अभियानअन्तर्गत दुई दिनको अवधिमा सिरहाको विभिन्न स्थानमा दुई हजारभन्दा बढी गाँजाको बोट फँडानी गरेको छ । इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएका टोलीले सिरहाको दुर्गापुर गाविस–४ मा विभिन्न व्यक्तिले खेत तथा बारीमा लगाइएको अन्दाजी ८०० गाँजाका बोट नष्ट गरेको हो । यसअघि बुधबार साँझ प्रहरीले गोलबजार नगरपालिका–८ चोहर्वामा स्थानीयले जग्गामा लगाएको ९०० भन्दा बढी गाँजाका बोट नष्ट गरेका थिए । लामो समयदेखि जारी आम हडतालका कारण प्रहरी राजमार्गमा बढी केन्द्रित हुने गरेकाले ग्रामीण क्षेत्रमा गाँजाखेती फस्टाएको विभिन्न सञ्चारमाध्यममा आएपछि सिरहा प्रहरीले गाँजा फँडानी अभियान सुरु गरेको हो । सिरहाको बडहारामाल, कर्जन्हा, कल्याणपुर कालाबन्जर, राघोपुर, महेशपुर पतारी, फूलबरीया, असनपुर, गोलबजार नगरपालिका, तेतरीया, चन्द्रलालपुर, कसहा, मुक्सार, गोविन्दपुर, ढोढना, सोनामती मझौरा, हरीपुरलगायतका स्थानमा गाँजाखेती भइरहेको स्थानीयवासीले बताएका छन् ।
११ पुस २०७२, शनिवार ०५:२६ बजे प्रकाशित