पुनर्निर्माण र संविधान संशोधन विधेयक एकैसाथ लैजाने प्रस्ताव मधेसी मोर्चाद्धारा अस्विकार

काठमाडौं, २७ मंसिर। पुनर्निर्माणसँगै संविधान संशोधन विधेयक लैजाने नेपाली कांग्रेसको प्रस्ताव मधेसी मोर्चाले अस्वीकार गरेको छ । आइतबार कांग्रेस र मधेसी मोर्चामा आवद्ध तमलोपाका शीर्ष नेताहरुबीच वार्ता भएको थियो । कांग्रेस सभापति सुशील कोइरालाको निवासमा भएको वार्तामा कांग्रेसले पुनर्निर्माण र संविधान संशोधन विधेयक एकैसाथ लैजान प्रस्ताव गरेको थियो । तर, तमलोपाका नेताहरुले कांग्रेसको प्रस्ताव अस्वीकार गरेका छन् । अब साढे १ बजे त्रिपक्षीय वार्ता हुँदैछ । लगातार संसद अवरुद्ध पार्दै आएको मधेसी मोर्चाले पुनर्निर्माण विधेयकको प्रक्रिया अघि बढ्न दिन बिहीबार नै सहमति जनाएको थियो । तर, कांग्रेस सहमतिमा २ घन्टा पनि टिक्न सकेन र संविधान संशोधन विधेयक पनि सँगै ल्याउनु पर्ने माग गर्दै संसद अवरुद्ध गर्‍यो । कांग्रेसले कार्यसूचीमा राखिसकेको संविधान संशोधन विधेयकलाई हटाउनुको कारण मागेको छ । र, उसले पुनर्निर्माणसँगै संविधान संशोधन विधेयक संसदमा टेबल गर्नु पर्ने माग गरेको छ । तर, मधेसी मोर्चाले भने कांग्रेस नेतृत्वको अघिल्लो सरकारले ल्याएको संविधान संशोधन विधेयक स्वीकार्य नभएको बताएको छ । पुनर्निर्माण विधेयकमा भने सघाउने बताएको छ । उसले दुबै विधेयक एकैसाथ ल्याए सदन चल्न नदिने बताएको छ ।

२७ मंसिर २०७२, आइतवार ०६:४१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु