दुई वर्षभित्रमा खाद्यान्नमा आत्मनिर्भर – मन्त्री गजुरेल

पोखरा, २६ मङ्सिर । कृषि विकास मन्त्री हरिबोल गजुरेलले कृषि क्रान्ति गरेर दुई वर्षभित्रमा देशलाई कृषिजन्य वस्तु उत्पादनमा आत्मनिर्भर बनाइने बताएका थिए ।

पश्चिमाञ्चल विकास क्षेत्रका कृषि तथा पशु सेवा कार्यालयको तीनदिने चौमासिक समीक्षा गोष्ठीको समापन समारोहलाई शनिबार सम्बोधन गर्दै मन्त्री गजुरेलले नयाँनयाँ प्रविधि भित्र्याएर सबैको ध्यान कृषिमा आकर्षण गर्ने र उत्पादकत्व वृद्धि गर्नेतर्पm मन्त्रालय लागेको जानकारी गराएका थिए ।

मन्त्री गजुरेलले कृषि क्षेत्रको विकासमा ध्यान नदिने कर्मचारीलाई कारबाही गरिने र राम्रो काम गर्नेलाई पुरस्कृत गरिने विचार पनि व्यक्त गरेका थिए ।

उहाँले २० वर्षसम्म निरन्तर कृषि पेसामा लाग्ने कृषकलाई पेन्सनको व्यवस्था गर्न लागिएको बताउनुभयो । लामो सङ्घर्षपछि नयाँ संविधान घोषणा भएको र यसको कार्यान्वयनमा सबै लाग्नुपर्नेमा उनको जोड थियो ।

कार्यक्रममा क्षेत्रीय कृषि निर्देशक बेनीबहादुर बस्नेत, निमित्त क्षेत्रीय पशु निर्देशक केदारराज पाण्डे, क्षेत्रीय अनुसन्धान केन्द्र लुम्लेका निर्देशक धनबहादुर घर्तीलगायतका वक्ताले पनि बोलेका थिए ।

समीक्षा गोष्ठीमा यस क्षेत्रका १६ वटै जिल्लाका कृषि विकास कार्यालय, पशु सेवा कार्यालय तथा कृषि र पशुसम्बन्धी अन्य कार्यालयको पनि सहभागिता रहेको थियो ।

२६ मंसिर २०७२, शनिवार १६:०० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु