मधेस आन्दोलन संवोधान बारे दलहरु छलफलमा, आजै औपचारिक वार्ता हुन सक्ने
काठमाडौँ, मङ्सिर १८ । प्रमुख तीन दल नेपाली कांग्रेस, एमाले र एमाओवादीले आन्दोलनरत मधेसी मोर्चाले राखेका मागहरुको सम्बन्धमा साझा अवधारणा बनाएका छन्। तीन दल र मधेसी मोर्चाबीच संभवतः शुक्रबार नै निर्णायक वार्ता गरेर असहज अवस्था टुंगिने वातावरण बनेको छ। भारतले संविधान संशोधनको विधेयकलाई अघि बढाउने र मधेसले राखेका मागलाई राजनीतिक तहबाट सम्बोधन गर्ने प्रतिवद्धता आएमा नाकाबन्दी खुल्ने संकेत दिएपछि तीन दल निर्णायक वार्ताका लागि गहन गृहकार्यमा जुटेका हुन् ।
तीनै दलका नेताहरु शुक्रबार बिहानदेखि नै आन्तरिक, दुईपक्षीय र बहुपक्षीय छलफलमा जुटेका छन्। एमाले स्थायी समितिको बैठक शनिबार बिहान बस्दैछ । त्यसैगरी कांगेस सभापति सुशील कोइरालाको निवासमा पनि शुक्रबार बिहान पदाधिकारीको परामर्श बैठक बस्दैछ। एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले पनि शुक्रबार बिहान पार्टीका वरिष्ठ नेताहरुसँग आन्तरिक परामर्श गर्दैछन् ।
तीन दलका नेताहरुबीच बिहीबार बालुवाटारमा भएको बैठकमा कांग्रेस नेतृत्वको सरकार छँदा दर्ता भएको संविधान संशोधनको विधेयक अघि बढाउने र सिमांकनको विषयलाई उच्चस्तरीय राजनीतिक संयन्त्र तथा संसदीय समितिमार्फत निश्चित समय अवधिभित्र टुंगाउने विषयमा साझा अवधारणा बनाएका छन्। त्यही आधारमा मधेसी मोर्चासँग निर्णायक वार्ताको तयारी भइरहेको छ। संशोधन विधेयकमा जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण र समानुपातिक समावेश प्रतिनिधित्वसम्बन्धी व्यवस्था छ। मधेसी मोर्चाले सिमांकनलाई बटमलाइनको रुपमा प्रस्तुत गरेको छ।
सहमति जुटाउन तीन दलबीचको आन्तरिक छलफलमा क्रियाशिल कांग्रेसका महामन्त्री कृष्ण सिटौलाले निर्णायक वार्ताका लागि सकारात्मक वातावरण बन्दै गरेको बताए। उपप्रधानमन्त्री तथा रक्षामन्त्री भीम रावलले पनि मधेसी मोर्चासँग अब हुने वार्ताबाट निश्कर्ष आउने विश्वास व्यक्त गरे। त्यसैगरी एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सहमति नजिक पुगेकोले असहज अवस्था छिटै अन्त्य हुने बताए।
तीन दलले साझा अवधारणा बनाएपछि आन्दोलनरत मधेसी मोर्चा पनि वार्ताको गृहकार्य र रणनीतिमा जुटेका छन् । सर्लाहीको नवलपुरमा भएको आमसभा छाडेर मधेसी दलका दुई शीर्ष नेताहरु महन्थ ठाकुर र उपेन्द्र यादव बिहीबार अपरान्ह नै काठमाडौं फर्केका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय विदेशीबीचको विशेष टेलिफोन सम्वाद तथा उपप्रधानमन्त्री कमल थापाको अनौपचारिक भारत भ्रमणपछि निर्णायक वार्ताका लागि सकारात्मक वातावरण बनेको हो।
१८ मंसिर २०७२, शुक्रवार ०२:५४ बजे प्रकाशित