कर्मचारीको लापरबाहीले औषधीको अभाव चुलिदै
काठमाडौं, मंसिर १६ । सरकारी अस्पताल र औषधी कम्पनीबिच समन्वय नहुँदा सरकारी अस्पतालमा बिभिन्न औषधीको अभाव भएको भेटिएको छ ।
नाकाबन्दी र तराई मधेशको आन्दोलनका कारण औषधीको आपूर्ति प्रभावित भएपछि सरकारी अस्पतालमा सुईबाट दिइने केही औषधीको अभाव शुरु भएको छ । तर यस्ता औषधीको स्टक केही आपूर्तिकर्तासँग पर्याप्त मात्रामा रहेको भेटिएको हो ।
केही औषधी ब्यावसायीले संकटको बेलामा सरकारी अस्पताललाई विभिन्न शर्त राखेर औषधी दिन आनाकानी गरेका छन् ।
कतिपय सरकारी अस्पतालले यसअघिको औषधी खरिदको बक्यौता तिर्न बाँकी रहेकाले पनि आपूर्तिकर्ताले औषधी दिन नचाहेको श्रोतले उज्यालो अनलाइनलाई जानकारी दिएको छ ।
सरकारी अस्पतालमा अहिले सुत्केरी ब्यथा लगाउने आक्सिटोसिन औषधीको अभाव भएपनि केही औषधी कम्पनी र सप्लायर्ससँग लाखौं डोज यो औषधी थन्किएको उज्यालोले फेला पारेको छ ।
थापाथलीमा रहेको प्रसुती गृह अस्पतालले कानुनी झण्झटका कारण अन्य कम्पनीसँग सम्झौता गर्न नसकिने बताएको छ ।
प्रसुती गृहका निर्देशक डाक्टर जागेश्वर गौतमले मन्त्रीपरिषदले निर्णय गरेमात्र अर्को कम्पनीलाई औषधी आयातको जिम्मा दिन सकिने जानकारी दिंदै अहिलेकै अवस्थामा १० दिनपछि अस्पतालमा सुत्केरी सेवा ठप्प हुन सक्ने बताउनुभयो ।
यस्ता औषधीको अभाव नीजि अस्पतालमा भने देखिएको छैन ।
१६ मंसिर २०७२, बुधवार ०१:२९ बजे प्रकाशित