आइएसलाई सिध्याउन अमेरिकाले इराकमा हमला गर्दै
एजेन्सी, मंसिर १६ । बिद्रोही संगठन इस्लामिक स्टेट आइएस विरुद्ध लड्न अमेरिकाले इराकमा विशेष सैन्य बल पठाउने भएको छ ।
अमेरिकी रक्षा मन्त्री एस्टन कार्टरले आइएस विरुद्ध लड्दै आएको इराक सरकार र कुर्द समुदायलाई सहयोग गर्न विशेष सैन्य बल पठाउने तयारी भएको बताउनुभएको हो ।
विशेष सैन्य बलले आइएसका अखडामा छापामार्न, अपहरणमा परेकाको उद्दार तथा आइएसका नेता पक्राउ गर्ने क्षेत्रमा काम गर्ने उहाँको भनाई छ ।
इराक पठाउने सैनिकको संख्या जानकारी नगराए पनि उहाँले विशेष सैन्य बलले इराकी सेनाको क्षमता बिस्तार गर्ने र इराकको सीमा क्षेत्रको रक्षा गर्ने बताउनुभयो ।
इराकका आइएस र सिरियामा रहेका आइएसबिचको सम्बन्ध टुटाउन अहिले राम्रो मौका रहेको र अमेरिकी विशेष सैन्य बलले यसलाई कार्यरुप दिने उहाँको भनाई छ ।
आइएसले गएको वर्ष इराक र सिरियाको धेरै भागमा नियन्त्रण कायम गरेको थियो । अमेरिकाको नेतृत्वमा ६५ देशको गठबन्धन सेनाले अहिले आइएस विरुद्ध हवाइ आक्रमण गरिरहेको छ ।
१६ मंसिर २०७२, बुधवार ०१:२५ बजे प्रकाशित