खाडीमा नेपालीको दुःख बुझ्न आयोगको टोली कतार जादै
काठमाडौं, कात्तिक २८ । राष्ट्रिय मानव अधिकार समिति कतारको निमन्त्रणामा राष्ट्रिय मानव अधिकार आयोगको एक उच्चस्तरीय टोली शनिबार कतार प्रस्थान गर्न लागेको छ । आयोगका अध्यक्ष अनुपराज शर्माको नेतृत्वको तीन सदस्यीय टोली अपरान्ह चार बजे कतार जान लागेको हो ।
टोलीले कतारस्थित आप्रवासी कामदारहरु र राष्ट्रिय मानव अधिकार समिति कतारका अध्यक्षसँग भेटघाट गरी कतारस्थित आप्रवासी नेपाली कामदारहरुको मानव अधिकार संरक्षण तथा सम्वर्द्धनका लागि पहल गर्नेछ ।
उक्त भ्रमण आप्रवासी कामदारहरुको सम्बन्धमा दुई आयोगबीच सहकार्य, समन्वय र सूचना आदान(प्रदानका बिषयमा केन्द्रित रहनेछ ।
भ्रमण अवधिमा दुई आयोगबीच समझदारी पत्रमा हस्ताक्षर हुने कार्यक्रमसमेत रहेको आयोगका कायममुकायम सचिव वेदप्रसाद भट्टराईले जानकारी दिए ।
राष्ट्रिय मानव अधिकार संस्थाहरुको अन्तर्राष्ट्रिय समन्वय समितिको वर्गीकरणमा राष्ट्रिय मानव अधिकार समिति कतार र राष्ट्रिय मानव अधिकार आयोग नेपाल ‘क’ वर्गमा रहेका संस्थाहरु हुन् । भ्रमण टोली मंसिर १ गते नेपाल फर्किने छ ।
२८ कात्तिक २०७२, शनिवार १०:३८ बजे प्रकाशित