केही सीप नलागेपछि मोर्चा पार्टी कार्यालय जलाउन थाल्यो

sfsfeकाठमाडौँ, कात्तिक २८ । केही गरी सरकारले माग सम्बोधन नगर्ने भएपछि विगत तिन महिनादेखि आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताहरुले ठूला पार्टीका कार्यालयहरुमा आन्दोलन केन्द्रित गरेका छन् ।

वीरगञ्जमा रहेको एमालेको पार्टी कार्यालयमा शनिबार आगजनी गर्दै मोर्चाले आन्दोलनको स्थान र स्वरुप परिवर्तन गरेको हो । यसअघि सिमानाका अवरोध र प्रदर्शनलाई मुख्य हतियार बनाएको मोर्चाले अन्ततः ठूला पार्टीलाई दुःख नदिई माग सम्बोधन नहुने देखेपछि यस्तो उपाय गरेका हुन् ।

यसअघि छुट्टै प्रदेश माग्दै सुर्खेतमा प्रदर्शन गरेका मध्यपश्चिमवासीले जिल्लाका तीन ओटा दलका पार्टी कार्यालयमा आगजनी गरेर दलका नेताको ध्यानाकर्षण गरेपछि मोर्चाका नेताहरुले त्यसैलाई अन्तिम हतियारका रुपमा प्रयोग गरेका छन् ।

मधेस आन्दोलनलाई मत्थर पार्न एमालेले रणनीतिक रुपमा चियापान कार्यक्रम गर्न लागेको भन्दै मोर्चाले आगजनी गरेको बताएको छ ।  एमाले सम्बद्ध युवासंघले छठ, नेपाल संवत् र तिहारको अवसरमा चियापान कार्यक्रम गर्ने तयारी गरेको थियो ।

त्यसको तयारीस्वरुप कार्यकर्ताहरुले शुक्रबार पार्टी कार्यालयमा सरसफाईसमेत गरी सामाजिक सञ्जालमार्फत् प्रचार प्रसार गरेका थिए । तर मोर्चाले बैठक बसेर चियापान कार्यक्रम नगर्न चेतावनीयुक्त विज्ञप्ति निकालेपछि कार्यक्रम स्थगित गरिएको थियो ।

यसरी शान्तिपूर्ण रुपमा चुप बसेर हुदैन् भन्ने हेतुले मोर्चाका कार्यकर्ताहरु उग्र भएर आगलागीमा उत्रिएका हुन् । आगजनीबाट एमाले कार्यालयका फर्निचर लगायतका सामान जलेर नष्ट भएका छन् । मोर्चाका कार्यकर्ताहरुले आगजनी पछि टायर बालेर नाराबाजी गर्दै प्रदर्शनसमेत गरेका थिए ।

कार्यालय जनाउनेलाई कारबाहीको माग 

यता एमालेको केन्द्रिय कमिटीले वीरगञ्जस्थित आफ्नो पार्टी कार्यालयमा भएको तोडफोड र आगजनीमा संलग्नहरुलाई पक्राउ गरी कारबाही गर्न सरकारसँग माग गरेको छ ।

साथै उसले आगजनी घटनालाई लोकतन्त्र बिरोधी र गैर राजनीतिक हर्कत भन्दै निन्दा र भत्र्सना गरेको छ ।

‘आन्दोलनको आवरणमा पार्टी कार्यालयमाथि आक्रमण गर्नु अपराधिक हर्कत बाहेक अरु केही हुनैं सक्दैन’ एमालेको केन्द्रीय प्रचार विभाग प्रमुख एवं सचिव योगेश भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

२८ कात्तिक २०७२, शनिवार १०:३५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु