बालुवाटारमा उच्चस्तरीय संयन्त्रको बैठक

काठमाडौँ, कात्तिक २७ । मुलुकको पछिल्लो राजनीतिक अवस्था र मधेसी मोर्चासँग छलफल गर्न शुक्रबार अपरान्ह उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक शुरु भएको छ। अपरान्ह चार बजे प्रधानमन्त्री निवास बालुवाटारमा शुरु बैठकमा आन्दोलनरत मधेसी मोर्चाको माग सम्बोधन गर्ने बारेमा छलफल हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिए ।
बैठकमा सरकारले मधेसी मोर्चासँग चार चरणमा गरेको वार्ता र त्यसले बनाएको सकारात्मक वातावरणलाई सहज बनाउने बारेमा पनि नेताहरुले छलफल गर्ने बताइएको छ । यस्तै बैठकमा संविधान संसोधन, भूकम्पपछिको पुननिर्माणका लागि प्राधिकरण गठनलगायतका विषयमा पनि छलफल हुने दाहालले बताए ।
बैठकमा २ महिनादेखि भारतले जारी राखेको अघोषित नाकाबन्दी र त्यसले सर्वसाधारणमा पारेको असरका बारेमा पनि छलफल हुने बताइएको छ । नाकाबन्दीको बिकल्पमा सरकारले चीनसँगका नाका खोल्न गरेको पहल र वैकल्पिक व्यवस्थाका बारेमा पनि छलफल हुनेछ ।
सरकारलाई सहयोग गर्न गत असोज २८ गते एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा नौ दल सम्मिलित उच्चस्ततरिय संयन्त्र गठन भएको थियो ।
रासस
२७ कात्तिक २०७२, शुक्रवार १०:४२ बजे प्रकाशित