नाकाबन्दी समस्या समाधान गर्न सासंदहरुको माग

काठमाडौँ, कात्तिक २३ । व्यवस्थापिका–संसदमा सोमबार बोल्ने सांसदले भारतको नाकाबन्दीबाट मुलुकले भोग्नुपरेको समस्या समाधान गर्न सरकारसँग माग गरेका छन् ।

बैठकको सुरुमै नेपाली काँग्रेसका सांसद् रामकृष्ण यादवले समानुपातिक र समावेशी प्रतिनिधित्व, जनसङ्ख्याको आधारमा निर्वाचन क्षेत्र कायम राखी तराई मधेसमा देखिएको समस्या समाधान गर्न आग्रह गरे ।

उनले तत्कालीन सरकारले सदनमा प्रस्तुत गरेको संविधान संशोधनको प्रस्ताव हालसम्म पारित नभएकामा दुःख व्यक्त गर्दै तत्काल उक्त प्रस्ताव पारित गर्न माग गरेका थिए ।

विगतमा नेकपा ९एमाले०का कारण संविधान संशोधनको प्रस्ताव अगाडि बढ्न नसकेको आरोप लगाउँदै उहाँले वार्ता र संवादको माध्यमबाट अगाडि बढ्न जिकिर गरेका थिए ।

नेकपा (एमाले) का सांसद विकास लम्सालले भूकम्पबाट थिलोथिलो बनेको मुलुकलाई भारतको नाकाबन्दीले थप पीडा दिएको भन्दै भूकम्पपछिको पुनःनिर्माणसम्बन्धी विधेयक संसद्मा आउन नसक्नुको कारण प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस भएको आरोप लगाए ।

एकीकृत नेकपा (माओवादी) का सांसद सीता नेपालीले नाकाबन्दीका कारण मुलुकको अवस्था जटिल बन्दै गएको उल्लेख गर्दै कालोबजारीको नियन्त्रण गर्न र जनतालाई समस्याको यथार्थ जानकारी गराउन माग गरेकी थिइन् ।

२३ कात्तिक २०७२, सोमवार १६:०३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु