व्यवस्थापिका संसदको बैठक मंसिर ६ गतेसम्मका लागी स्थगित

काठमाडौँ, कात्तिक २३ । मधेसकेन्द्रित दलका माग सम्बोधन नगरेको भन्दै आन्दोलनरत मधेसी मोर्चा सम्बद्ध दलहरुले व्यवस्थापिका–संसद्को सोमबारको बैठक पनि चल्न दिएनन् ।

बैठक शुरु भएको केही समय केही सांसदलाई बोल्न दिएर उनीहरुले रोष्टम घेर्देै नाराबाजी गरेर बैठक अबरुद्ध गर्न लगाएका हुन् ।

थरुहट तराई पार्टीका सांसद गोपाल दहितले नयाँ संविधानले तराई मधेसको समस्या समाधान गर्न कुनै चासो नदिएको भन्दै सदनको कारबाही चल्न नसक्ने बताए लगत्तै तराई मधेस केन्द्रित दलका सांसदले नाराबाजी गर्दै संसदको कारबाही चल्न नसक्ने भन्दै नाराबाजी गरेका थिए ।

सभामुख ओनसरी घर्तीले पटक–पटक आसन ग्रहण गर्न सांसदलाई आग्रह गर्नु भएपनि नाराबाजी कायम रहेका कारण उनले बैठक स्थगन गरेकी थिइन् ।

तराई मधेसको माग सम्बोधन गर्न तत्काल संविधान संशोधन गर्नुपर्ने, सङ्घीय प्रदेशको सीमाङ्कनलगायत विषय सच्याइनुपर्ने उनीहरुको माग थियो ।

यसरी माग गर्ने दलमा सङ्घीय समाजवादी फोरम नेपाल, तराई मधेस लोकतान्त्रिक पार्टी, तराई मधेस सद्भावना पार्टी, सद्भावना पार्टी, थरुहट तराई पार्टी नेपाल, सङ्घीय लोकतान्त्रिक मञ्च थरुहट, नेपाली जनता दललगायत छन् ।

लगातारको नाराबाजीपछि सभामुख घर्तीले व्यवस्थापिका–संसद्को अर्को बैठक आगामी मङ्सिर ६ गते आइतबार बिहान ११ बजे बस्ने गरी स्थगन गरिएको जानकारी गराएकी थिइन् ।

२३ कात्तिक २०७२, सोमवार १६:११ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु