समस्या चाँडै समाधान – प्रम ओली, कांग्रेसले गर्छ : पौडेल
काठमाडौँ, २३ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको विद्यमान समस्या चाँडै समाधान हुने दाबी गरेका छन् ।
नेपाल क्रान्तिकारी युवा सङ्घ र नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घको सोमबार सिंहदरबारमा संयुक्त ज्ञापनपत्र बुझ्दै उनले सीमा क्षेत्रमा देखिएका समस्या समाधानका लागि कूटनीतिक प्रयास जारी रहेको दाबी गरेका हुन् ।
प्रधानमन्त्री ओलीले आफूहरुले भारतसँग सम्बन्ध बिगार्न नचाहेको तर कुनै पनि दबाब, प्रभावमा नझुक्ने बताउनुभएको युवा सङ्घका अध्यक्ष उकेश कवांले भने ।
आठबुँदे सो ज्ञापनपत्रमा भारतको अघोषित नाकाबन्दीविरुद्ध नेपाल सरकारको अडानलाई थप दृढतापूर्वक निरन्तरता दिई कुनै पनि अवस्थामा नेपालको सार्वभौमिकता र स्वतन्त्रतामा झुक्न नहुने, नाकाबन्दीका कारण चुलिएको कालाबजारी र भ्रष्टाचारको तत्काल नियन्त्रण गरी उत्तरी नाका खुलाउनका लागि चाँडो पहल गर्नुपर्नेलगायत रहेका छन् ।
संवादबाट समस्याको समाधान–कार्यवाहक सभापति पौडेल
यसैबीच नेपाली काँग्रेसका कार्यवाहक सभापति रामचन्द्र पौडेलले वर्तमान समस्या समाधान गर्न आफ्नो पार्टीले हस्तक्षेपकारी भूमिका निर्वाह गर्ने जिकिर गरेका छन् ।
नेपाली काँग्रेस चितवनले सोमबार दीपावली, नेपाल सम्वत्, छठ पर्व तथा स्व।गणेशमान सिंहको जन्म शताब्दीको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा कार्यवाहक सभापति पौडेलले अब नेपाली जनताले नाकाबन्दी थेग्न नसक्ने भन्दै समाधानका लागि मधेसवादी दल, सरकार र भारतसँग संवाद गरेर समस्याको समाधान गरेरै छोड्ने दाबी गरेका हुन् ।
उनले मध्यस्थता र सहजकर्ताको भूमिका नेपाली काँग्रेसको काँधमा आएको भन्दै तराईमा मात्रै काँग्रेसका एकसय सभासद छन् उनीहरुको मुद्दालाई ओझेलमा पार्न काँग्रेसले नसक्ने जिकिर गरे । ।
उनले विपक्षमा बसेर पार्टीको हैसियत र आवाजको ओजन बढेको र सशक्त विपक्षीको रुपमा रहेर संविधान कार्यान्वयनका पक्षमा भूमिका खेल्ने पनि दाबी गरेका छन् ।
२३ कात्तिक २०७२, सोमवार १६:१९ बजे प्रकाशित