जातीय विभेद अन्त्यका लागी देशव्यापी अभियान सञ्चालन गरिदैँ
काठमाडौँ, २३ कात्तिक । बर्षौदेखि समाजमा आक्रान्त रुपमा रहेको जातीय छुवाछुत तथा विभेद अन्त्यका लागि देशव्यापी अभियान सञ्चालन गरिने भएको छ ।
अभियान सञ्चालनका निम्ति जातीय छुवाछुत तथा विभेद अन्त्यका लागि सक्रिय सङ्घसंस्था र सरोकारवाला निकायको सहभागितामा अभियान गठन गरिएको दलित गैरसरकारी संस्था महासङ्घका अध्यक्ष गजाधर सुनारले इपब्लिक खबरलाई बताए ।
महासङ्घका अध्यक्ष सुनारको नेतृत्वमा मङ्सिर तेस्रो साताबाट सञ्चालन गरिने अभियानमा विश्व हिन्दू महासङ्घका पूर्व अध्यक्ष दामोदर गौतम, वर्तमान अध्यक्ष रामचन्द्र अधिकारी, ब्राह्मण समाजका केन्द्रीय कार्य समिति सदस्य तुलसीराम ओली, दलित अधिकारकर्मी कमला विश्वकर्मा र तेज सुनारलगायत रहेका छन् ।
अध्यक्ष सुनारले सदियौँदेखि दलित समुदायले भोग्दै आएको छुवाछुतको समस्यालाई न्यूनीकरण गर्ने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको बताए ।
आर्थिक, सामाजिक र राजनीतिकरूपमा राज्यको मूल धारबाट पछाडि पारिएको दलित समुदायले अहिले पनि छुवाछुतकै कारण ज्यान समेत गुमाउनुपरेको दर्दनाक कथा छ ।
जातीय भेदभाव तथा छुवाछुत र कसुर सजाय ऐन, २०६८ लागू भएपछि पनि पानी छोएको वा चुलो छोएको निहँुमा चार जना दलित युवाको हत्या गरिएको छ ।
अन्तरजातीय विवाह गरेका कारण दर्जनौँ दलित घर परिवार विस्थापित हुनुपरेको छ । पहिलो संविधानसभामा ५० जना दलित सभासद्को सहभागिता रहेको थियो भने अहिले संसद्मा ४० जनाको सहभागिता रहेको छ ।
२३ कात्तिक २०७२, सोमवार १५:५१ बजे प्रकाशित