भूकम्पपीडितको रकम निकासा गरिएको प्राधिकरणको दाबी
काठमाडौँ, १४ भदौँ । गत बर्षको भूकम्पबाट प्रभावितहरुको निजी आवास निर्माणका लागि अहिलेसम्म १० अर्ब २ करोड २६ लाख रुपैया सम्वन्धित लाभग्राहीको खातमा निकासा गरिसकेको राष्ट्रिय पुननिर्माण प्राधिकरणले जनाएको छ । व्यवस्थापिका संसदको विकास समितिको आजको बैठकमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले सो जानकारी दिनुभएको हो । उहाँका अनुसार, प्राधिकरणले हालसम्म ३ लाख ९४ हजार ९ सय १५ घरधनीसँग आवास निर्माणका लागि अनुदान सम्झौता गरिसकेको छ । काठमाडौँ उपत्यका बाहिरका ११ जिल्लामा सम्झौता गर्ने कार्य जारी रहेको ज्ञवालीले बताउनुभयो ।
उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुरमा हिजोसम्म ६३ हजार ६ सय ३ घरपरिवारको सर्वेक्षण सम्पन्न भएको तथा भूकम्प प्रभावित १७ जिल्लामा सर्वेक्षण गर्ने तयारी अघि बढिरहेको उहाँले जानकारी दिनुभयो । जोखिमयुक्त १ सय १७ क्षेत्रको अध्ययन गरिएकोमध्ये ५६ वटा बस्ती स्थानान्तरणका लागि एकीकृत बस्ती निर्माण अध्ययन अघि बढाइएको जनाउँदै प्राधिकरणले नेपाली सेना र सहरी विकास मन्त्रालय मार्फत ८२ सामूहिक आवास निर्माण गरिएको बताएको छ । ज्ञवालीका अनुसार, पुनःनिर्माणका विषयमा सर्वसाधारणबाट हिजोसम्ममा १ लाख ५८ हजार ४ सय ६६ गुनासा दर्ता भएकामा कतिपय गुनासाको गाउँ र जिल्लास्तरमा सुनुवाइ जारी रहेको छ ।
भूकम्पपछिको पुनःनिर्माणका लागि सरकारले चालु आर्थिक बर्षका लागि १ खर्ब ६८ अर्ब रुपैया विनियोजन गरेको तथा १ खर्ब ८३ अर्ब रुपैया बराबरको वैदेशिक वित्तीय सहयोग सम्झौता भएको प्राधिकरणले जनाएको छ । थप ८५ अर्ब रुपैया बराबरको सहयोगसम्बन्धी सम्झौता अन्तिम चरणमा रहेकोमा यस सहित अन्तर्राष्ट्रिय सम्मेलनमा व्यक्त सहयोग प्रतिबद्धता रकम करिब ३ सय ५० अर्ब रुपैयामध्ये करिब ८० प्रतिशत रकमका लागि सहमति प्राप्त भइसकेको प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले जानकारी दिए ।
१४ भदौ २०७३, मंगलवार १५:३४ बजे प्रकाशित