मोदी–निधी भेट : संविधान संशोधनमा चासो !
काठमाडौँ, ४ भदौँ । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । भारतीय प्रधानमन्त्री मोदीसँग शनिबार भएको भेटमा उपप्रधान तथा गृहमन्त्री निधिले प्रधानमन्त्री पुष्पकमल दाहालले समकक्षी मोदीलाई पठाएको विशेष सन्देशसहितको पत्र पनि हस्तान्तरण गरेका हुन । सो क्रममा भारतीय प्रधानमन्त्री मोदीले आफू नेपाल आउन इच्छुक रहेको बताएका छन । निधिले प्रधानमन्त्री मोदीलाई जनकपुर, मुक्तिनाथ र लुम्बिनीमा धार्मिक भ्रमण गराउने बारेमा विशेष आग्रह गर्नुभएको बुझिएको छ । यसअघि मोदीले नेपालका मुक्तिनाथ लुम्बिनी तथा जनकपुरको भ्रमण गर्ने कार्यक्रम स्थगित भएको थियो ।
के के मा चासो ?
निधिसँगको भेटवार्तामा भारतीय प्रधानमन्त्री मोदीले भारतले नेपालमा शान्ति, स्थायित्व र विकास भएको हेर्न चाहेको बताए । मोदीले संविधान जारी भएपछिको नेपालको राजनीतिक अवस्था,नयाँ संविधानप्रति असन्तुष्ट पक्षको माग, संविधान संशोधन लगायतबारे चासो व्यक्त गरे । जवाफमा मन्त्री निधिले संविधानमा असन्तुष्ट राख्ने मधेसी मोर्चाको माग सम्बोधन गर्नेगरि छिट्टै संशोधन प्रस्ताव अघि बढाइनेबारे विश्वास व्यक्त गरे । भेटमा दुइ देशबिचको सम्बन्ध सँधै प्रगाण बनाउनेबारे छलफल भएको छ । यसअघि उपप्रधानमन्त्री निधीले हिजो भारतीय राष्ट्रपति प्रणब मुखर्जी, गृहमन्त्री राजनाथ सिंह, विदेशमन्त्री सुष्मा स्वराजलगायतसँग भेटवार्ता गरेका छन ।
४ भदौ २०७३, शनिवार १२:२४ बजे प्रकाशित