प्राधिकरणले ८२ हजारको खातामा पैसा पठायो

काठमाडौँ, २ भदौँ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अहिलेसम्म ८२ हजार भूकम्प पीडितको बैंक खातामा पहिलो किस्ता बापत्को आवास अनुदान रकम जम्मा गरेको छ । गत वर्ष जम्मा ४२ हजार घरधनीलाई पहिलो किस्ताको ५० हजार रुपैयाँ अनुदान उपलब्ध गराएको प्राधिकरणले सरकारको निर्देशनपछि एक हप्ता नपुग्दै ४२ हजारभन्दा बढीको खातामा रकम जम्मा गरिदिएको हो ।
गत सातामात्रै प्रधानमन्त्री पुष्कमल दाहालले भूकम्पका कारण घरबारबिहीन भएका र क्षतिपछि आफै घर निर्माण गरेकाहरुलाई आवास निर्माणका लागि दिने भनिएको पहिलो किस्ताको ५० हजार रुपैयाँ ४५ दिनभित्र उपलब्ध गराईसक्न निर्देशन दिनुभएको थियो । अघिल्लो सरकार र तत्कालीन प्रतिपक्षी कांग्रेसबीच पीडितलाई पहिलो किस्तामा डेड लाख दिने सहमति भएपनि दाहाल नेतृत्वको सरकारले ५० हजार रुपैयाँ नै उपलब्ध गराउन निर्देशन दिएको हो ।सोही अनुसार लाभग्राहीको बैंक खातामा रकम जम्मा गर्न सुरु गरेको प्राधिकरणले ४ दिनमै ४२ हजारलाई अनुदान रकम उपलब्ध गराएको प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले जानकारी दिनुभयो ।
उहाँका अनुसार अनुदान रकमका लागि अर्थ मन्त्रालयको सहमतिमा अघिल्लो वर्ष फ्रिज भएको रकमको प्रयोग गरिएको छ । ५ लाख ३३ हजार पीडितमध्ये ८२ हजारलाई अनुदान रकम उपलब्ध गराएको प्राधिकरणले एक महिनाभित्र बाँकी सबैलाई पहिलो किस्ताको अनुदान वितरण गरिसक्ने जनाएको छ ।
२ भदौ २०७३, बिहीवार १२:४७ बजे प्रकाशित