मन्त्रीपरिषद्को निर्णय : ५२ लाई शहिद घोषणा !
काठमाडौँ, २ भदौँ । सरकारले मधेस आन्दोलनमा मारिएका १० सुरक्षाकर्मीसहित ५२ जनालाई क्षतिपुर्ती स्वरुप १० लाख रुपैया दिने निर्णय गरेको छ । मन्त्रीपरिषद्को आजको बैठकले त्यस्तो निर्णय गरेको हो । बैठकले मधेस आन्दोलनमा मारिएका ४१ जनालाई सहिद घोषणा गरेको छ । ११ जना सुरक्षाकर्मीलाई सहिद घोषणा गर्ने निर्णय यसअघिको सरकारले गरिसकेको थियो ।
मधेस आन्दोलनको नेतृत्व गरेको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले केही दिन अघि सरकारलाई सहिद घोषणा र क्षतिपूर्तिका लागि ६८ जनाको सूची वुझाएको थियो । नयाँ सरकार गठनअघि मधेशी मोर्चा आवद्ध सघिय गठबन्धन र नेपाली कांग्रेस र नेकपा माओबादी केन्द्रवीच भएको तीन बुँदे सहमतिमा आयोग गठन गर्नेलगायतका विषय उल्लेख थियो ।
मन्त्रीपरिषद्ले मधेस आन्दोलनमा भएको भौतिक क्षतिको अध्ययन तथा छानबिन गर्न सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको संयोजत्वमा ७ सदस्यीय आयोग गठन गर्ने निर्णय गरेको छ । आयोगमा अन्य ६ जना सदस्य राख्न बाँकी छ । यस्तै मन्त्रीपरिषद्को बैठकले अफगानिस्तानको काबुलमा केही महिनाअघि मारिएका नेपालीहरुको शव नेपाल ल्याउने क्रममा लागेको खर्च सरकारले तुरुन्त भुक्तानी गर्ने समेत निर्णय गरेको छ । स्थानीय तहको निर्वाचन सम्पन्न गर्न विद्येयक तयार पार्ने सैद्धान्तिक स्वीकृति दिने निर्णय पनि मन्त्रीपरिसद बैठकको निर्णय छ । यस्तै आजको बैठकले सूचना तथा सञ्चारमन्त्री राम कार्कीलाई सरकारको प्रवक्ता तोकेको छ ।
२ भदौ २०७३, बिहीवार १२:३५ बजे प्रकाशित