नेविसंघको अध्यक्षमा महर, पौडेलको धाँधली !

nain-singh-maharकाठमाडौँ, २ भदौँ । नेविसंघको अध्यक्षमा नैनसिंह महर विजयी हुनुभएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निकट मानिने महर सभापतिको मत गणनामा १४ सय ३५ मत ल्याएर विजयी हुनुभएको हो । महरले रामचन्द्र पौडेल पक्षका उम्मेद्धवार मनोजमणि आचार्यलाई १ सय १९ मतले पछि पार्दै अध्यक्ष पदमा निर्वाचित हुनु भएको हो । आचार्यले १३१६ मत ल्याउनु भएको छ । यस्तै महामन्त्रीमा पनि महरकै प्यानलका कुन्दनराज काफ्ले र सरोज थापा विजयी हुनुभएको छ ।
यस्तै उपाध्यक्ष पदमा प्रदेश नम्वर १ बाट विकास केसी, प्रदेश नम्वर २ बाट सञ्जय यादव, प्रदेश नम्बर ३ बाट रामप्रसाद अधिकारी, प्रदेश नम्बर ४ बाट डिल्लीराम सुवेदी, प्रदेश नम्बर ५ बाट प्रकाश रानामगर, प्रदेश नम्बर ६ बाट ईश्वर विष्ट र प्रदेश नम्बर ७ बाट पुष्प शाही निर्वाचित हुनु भएको छ । यस्तै महिला उपाध्यक्षमा उर्मिला थपलिया, जनजातीबाट नवीन राई निर्वाचित हुनु भएको छ भने कोषाध्यक्षमा शिव रिमाल निर्वाचित हुनु भएको छ । नेविसंघ निर्वाचनको मतपरिणाम आधिकारिक रुपमा घोषणा गर्ने तयारी भइरहेको छ ।

पौडेल पक्षको धाँधली
यसैबीच मतदानमा फर्जी मतदाता घुसाएर निर्वाचन जितेको भन्दै रामचन्द्र पौडेल निकट मनोजमणी आचार्य पक्षले फेरी निर्वाचन गर्न माग गरेपछि नेपाल विद्यार्थी संघको निर्वाचन मतपरिणाम सार्वजनिक गर्न ढिलाई भएको छ । प्रदेश नम्बर ६ स्थित मध्यपश्चिम विश्वविद्यालयबाट २० जना प्रतिनीधि रहेकामा २६ जनाले मतदान गरेको भन्दै पौडेल निकट विद्यार्थी समुहले निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक गर्न अवरोध पुर्याएको छ । अहिले विवाद मिलाउने प्रयास भइरहेको छ ।

नेविसंघका निर्वाचन अधिकृत कृष्णप्रसाद पनेरुले ६ फर्जी मतदाताको पत्र च्यातेर फालेपछि पौडेल पक्ष आक्रोशित भएर केहीबेर होहल्ला समेत गरेको थियो । विवादपछि पौडेल पक्षले प्रदेश नम्बर ६ को निर्वाचन फेरी हुनुपर्ने माग गरेको छ । विवाद समाधानका लागी अहिले सानेपामा विद्यार्थी नेताहरु र निर्वाचन समितीबीच छलफल छ ।

२ भदौ २०७३, बिहीवार १२:३८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु