महरा र चिनियाँ प्रधानमन्त्रीबीच भेटवार्ता
काठमाडौँ, १ भदौँ । प्रधानमन्त्री पुष्पकमल दाहालको विशेष दूतका रुपमा चीन पुगेका उपप्रधान एवम् अर्थमन्त्री कृष्णबहादुर महराले चिनियाँ प्रधानमन्त्री ली खछ्याङसंग भेटवार्ता गर्नुभएको छ । आज बिहान करिब २५ मिनेट भएको भेटमा दुई देशको उच्चस्तरीय नेतृत्वको भ्रमण तथा माओबादी केन्द्र नेतृत्वको सरकारले प्राथमिकतामा राखेका विषयबारे छलफल भएको थियो । भेटमा चिनियाँ प्रधानमन्त्री लीले नेपालको शान्ती र विकासका लागि सरकारले तयार गरेका योजनाबारे चासो राख्नुभएको थियो ।
जवाफमा अघिल्लो सरकारले चीनसंग पारवाहनलगायतका सम्झौता र सहमति गर्दा आफ्नो पार्टी पनि सरकारमा रहेको बताउँदै त्यसको कार्यान्यवन अहिलेको सरकारको प्राथमिकताभित्र राखिएको जानकारी गराउनुभएको थियो । पारवाहनलगायतका केही सहमति कार्यान्वयनमा चुनौति भएपनि आफुहरु उच्चस्तरीय प्रोटोकलमा हस्ताक्षर गर्न तयार रहेको महराले स्पष्ट पार्नुभएको उहाँ निकट श्रोतले जनाएको छ । भेटमा द्धिपक्षीय सम्बन्ध थप सुधारका लागि आपसी सहकार्य प्रभावकारी रुपमा अघि बढाउनेबारे पनि छलफल भएको थियो ।
यसअघि हिजो महराले चिनियाँ विदेशमन्त्री वाङ यीसंग भेट गरी प्रधानमन्त्री दाहाल र राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ समकक्षीहरुलाई नेपाल भ्रमण गर्न दिएको निमन्त्रणापत्र हस्तान्तरण गर्नुभएको थियो । तीन साताअघि दाहाल नेतृत्वमा कांग्रेस–माओवादी गठबन्धन सरकार बनेयता नेपालका तर्फबाट उत्तरी छिमेकी चीनमा भएको यो नै पहिलो उच्चस्तरीय सरकारी भ्रमण हो । मन्त्री महरा पर्सी शुक्रबार स्वदेश फर्कने कार्यक्रम छ ।
१ भदौ २०७३, बुधवार १२:४४ बजे प्रकाशित