निर्वाचन गर्न सरकारलाई दबाब दिने एमाले बैठक
काठमाडौँ, १ भदौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संविधानले तोकेको समयसिमाभित्र सबै तहको निर्वाचन गर्न सरकारलाइ दबाब दिने निर्णय गरेको छ । धुम्बाराहीस्थित पार्टी केन्द्रिय कार्यालयमा आज बसेको एमाले स्थायी समितीको बैठकले यसअघिको सरकारले ल्याएको चुनावी कार्ययोजना प्रभावित गर्ने षडयन्त्र भएको भन्दै आपत्ति जनाएको छ । साथै संविधानले तोकेको समयभित्रै स्थानीय,प्रदेश तथा केन्द्रको निर्वाचन गर्न दबाव दिने निर्णय भएको सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराइले जनकारी दिनुभयो ।
आफू नेतृत्वको सरकारले स्थानीय तहको निर्वाचन मंसिर महिनामा गर्ने कार्यतालिका ल्याएकामा सत्तारुढ नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसले मंसिरको सट्टा चैत महिनाको प्रस्ताव गरेपछि एमाले रुष्ट बनेको छ । संविधान कार्यान्वयन हुन नदिने षडयन्त्र भएकाले सबै शक्ति परिचालन गरेर संविधान कार्यान्वयन तर्फ जुट्ने एमालेको निर्णय छ ।
केहिदिनदेखि बस्दै आएको एमाले बैठकले प्रदेश कमिटीका संयोजकहरुको टुंगो लगाउन भने सकेको छैन । प्रदेश कमिटिका संयोजकको जिम्मा पदाधिकारीलाई मात्र दिने वा स्थायी कमिटिका सदस्यलाई पनि दिने भन्ने विषयमा नेताहरूबिच एकमत छैन । बैठकले केन्द्रीय कमिटीको बैठक भने भदौको अन्तिममा गर्ने निर्णय गरेको सचिव भट्टराइले बताउनुभयो ।
१ भदौ २०७३, बुधवार १२:३८ बजे प्रकाशित